जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया छात्रावास’ को १५औं वार्षिकोत्सव वागमती प्रदेशमा सम्पन्न भएको छ।
कार्यक्रममा खेलकुद मन्त्री तेजुलाल चौधरीले जनजाति समुदायमा अपार सम्भावना भएर पनि विकासको मूलधारमा पछाडि परिरहेको उल्लेख गरे ।
उनले जनजाति कल्याण आश्रमले गरिरहेको कार्यको प्रशंसा गरे ।
कार्यक्रमका विशिष्ट अतिथि भारतीय सांसद तथा कलाकार अरुण गोविलले जनजाति बालबालिकाको शिक्षामार्फत उज्वल भविष्य निर्माणमा लागेको ‘आमाको माया छात्रावास’ अभियानप्रति सम्मान प्रकट गरे ।
उनले भने, ”जो बच्चा कहिले केवल परमात्माको सहारामा हुन्थे, आज उनीहरूका लागि आश्रमको सेवा जीवनको आधार बनेको छ ।’
अरुण गोविलले टेलिशृङ्खला रामायणमा श्रीरामको भूमिका निर्वाह गरेका थिए ।
हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सहप्रचारक रेवित कुमारले जनजाति समुदाय धर्मान्तरणका लागि सबैभन्दा सजिलो लक्ष्य भएकाले विधर्मीहरू यस क्षेत्रमा सक्रिय रहेको र त्यसले परम्परा, संस्कृति र आस्थामाथि खतरा उत्पन्न गरिरहेको बताए ।
उनले भने “मन्दिर, गुम्बा, जस्ता धार्मिक स्थलहरूमा जाने व्यक्ति स्वधर्ममा रहेमात्र ती स्थल सुरक्षित रहन सक्छन् ।”
आश्रमका महासचिव प्रेम थुलुङले छात्रावासको सुरूवात चार बालबालिकाबाट भएको स्मरण गर्दै हाल देशका ११ स्थानमा यसले सेवा पुर्याइरहेको जानकारी दिए ।
आउँदो वर्षमा थप विस्तार र गुणस्तरीय सुधारको प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
प्रमोद चौधरी अग्रवालले आश्रमले गरेका सेवामूलक कार्यले जनजाति समुदायको शिक्षामा नयाँ आशा र सम्भावना सिर्जना गरेको उल्लेख गरे ।