वीरगञ्जमा प्रशासनले कर्फ्यू लगाएको छ ।
हनुमान जयन्तीको अवसरमा छपकैयामा शोभा यात्रा निकालिएको थियो ।
शोभा यात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि झडप भएको थियो ।
शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।
झडपपछि तोडफोड र आगजनी भयो ।
शोभा यात्राका सहभागीले आक्रोशित हुँदै केही मोटरसाइकल, पसल र होटलमा आगजनी र तोडफोड गरे ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस हानेको थियो ।
घटनामा दर्जनौं हिन्दूवादी युवा र प्रहरी घाइते भएका छन् ।
दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज (शनिबार) साँझ ६:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर सोभित्र कर्फ्यु लगाइएको हो ।
तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।