ब्लड क्यान्सर पीडित निरोजलाई उपचार खर्च अभाव, भन्छन्, ‘म बाँच्न चाहन्छु’

समाचार
7K Shares

चौतारा । बाँच्ने रहर कसलाई हुँदैन र ? हरेक मानिसले जीवनमा यो गर्छु, त्यो गर्छु भनेर सपना देखिरहेको हुन्छ । सिन्धुपाल्चोकका १९ बर्षीया निरोज खत्रीले पनि जीवनमा केही गर्ने ठूलो सपना देखेका थिए ।

तर उनै निरोज अहिले जीवन-मरणको दोसाँधमा पुगेका छन् । उनले कल्पना समेत गरेका थिएनन् कि आफूलाई यस्तो डरलाग्दो रोगले जीवनमा अघि बढ्नबाट रोक्छ भनेर । १९ बर्षका निरोजलाई ब्लड क्यान्सर भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा न. १ का निरोज खत्री अहिले मृत्युसँग लडिरहेका छन् ।

विगत लामो समयदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका निरोजलाई यतिखेर खर्च अभावले पनि च्यापेको छ । त्यसो त उनको पारिवारीक आर्थिक अवस्था निकै कमजोर छ, त्यसमाथि उपचारका लागि लाखौं रुपैयाँ लाग्ने भएपछि निरोजको परिवार अहिले संकटमा छ ।

केही मनकारी व्यक्ति, गाउँले, साथीभाइ तथा केही संस्थाले उनको उपचारको लागि आर्थिक सहयोग पनि उपलव्ध गराए । आर्थिक सहयोग उपलब्ध भएपछि निरोजको उपचारको लागि हालसम्म सात लाख खर्च भइसकेको छ । चिकित्सकका अनुसार ‘अझै सात लाख खर्च लाग्ने’ निरोजका काका रामकुमार खत्रीले जानकारी दिए ।

उपचारमा संलग्न चिकित्सक अजयकुमार झाका अनुसार किमो थेरापी गर्दागर्दै अरु समस्या नआए उनको खर्चमा कम्तिमा १०–११ लाख लाग्नेछ । चार साइकलमा पहिलो साइकल पुरा नहुँदै ज्वरो आउने, हात सुन्निने, जस्ता लक्षण देखा परेको र क्रमशः इन्फेक्शन फैलदै गएको हुनाले अझै कति खर्च लाग्ने ठ्याक्कै अनुमान गर्न नसकिने डा. झाले बताए ।

निरोज न त महाजनका छोरा हुन, न पहुँचवाला राजनीतककर्मीकै आफन्त हुन् । आर्थिक अभावबाट गुज्रेको उनको परिवारलाई यतिखेर महासंकट परेको छ । त्यो संकट समाधानका लागि जो कोहीले गरेको थोरै आर्थिक सहयोग पनि उनका लागि जीवनदान हुन सक्छ ।

भाइचारा, सहिष्णुता, मानवता र सहयोगको भावना तपाइँको मनमा छ भने आफूले सकेके सहयोग गरिदिनुहुन निरोजका परिवारले सबैमा अपिल गरेका छन् । थप जानकारीका लागि 9851175183 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *