रविको बैंक खाता खोजिने, कसरी पठाउँथे मासिक १५ लाख अमेरिका ?

NEWS
Spread the love

काठमाडौं । प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी रवि लामिछानेसहित तीनै जनाको बैंक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको बैंक खाता विवरण माग गरेको हो।

चितवन जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा समावेश पत्रअनुसार तीनै प्रतिवादीहरुको नेपालका वाणिज्य बैंकहरुमा भएका खाता र तिनको विवरण माग गरिएको छ।

सरकारी वकिलले अदालतमा बुझाएको मिसिलको सबुत प्रमाण क्रम संख्या ६६ मा पत्र पठाएको विवरण समावेश छ।

चितवनको होटल कंगारुमा साउन २० मा आत्महत्या गरेका पत्रकार शालिकरामले मर्नुअघि बनाएको भिडियोमा प्रस्तोता रविसहित सिधाकुरा जनतासँगको टिमले करोडौं रकम उठाएको उल्लेख गरेका थिए। रविले ठूला ब्यापारी र तस्करसँग रकम असुलेको र आफूलाई थोरै रकम दिएको आरोप लगाएका थिए।

यो बाहेक उनले मासिक १५ लाख रुपैयाँ अमेरिका पठाउने गरेको विषय सार्वजनिक चर्चा भएपछि प्रहरीले उनको बैंक खाता तथा कारोबारको अनुसन्धान सुरु गरेको हो।

‘मृतकले भिडियोमा बोलेको विवरणको सत्यता जाँच्न राष्ट्र बैंकलाई पत्र लेखेका हौं,’ केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मीले भने ‘राष्ट्र बैंकबाट विवरण उपलब्ध भएपछि चितवन प्रहरीले थप अनुसन्धान गर्नेछ।’

पत्रकार शालिकराम आत्महत्या प्रकरण अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले ब्युरोमा कार्यरत एसपी रेग्मीको नेतृत्वमा विशेष टोली परिचालन गरेको थियो।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा शालिकरामले बोक्ने सामसुङ जे सिक्स मोबाइल खरिद गरेदेखि साउन २० सम्म गरि ६४ गिगा बाइट (जिबी) डाटा समेत प्रमाणमा रुपमा पेश गरेको छ। शालिकरामले विभिन्न समयमा मेटाएका भिडियो र फोटो समेत रिकभर भएका छन्।

प्रहरीले राष्ट्र बैंकले विवरण उपलब्ध गराएपछि शालिकरामले भनेअनुसार रविको खातामा स्रोत नखुलेको रकम भेटिए सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागलाई समेत कारवाहीका लागि पत्र लेख्ने तयारी गरेको छ।

भदौ ४ प्रहरीले पठाएको पत्र अझैसम्म राष्ट्र बैंक पुगेको छैन। प्रहरीले अनुसन्धानका लागि पठाउने राष्ट्र बैंकको ‘अनुसन्धान विभाग’मा अनुरोध गर्छ। राष्ट्र बैंकमा सो विभाग हेर्ने प्रमुख अधिकारी देबकुमार दाहाल रवि लामिछानेको हकमा लेखिएको पत्र आइनपुगेको बताउँछन्।

‘बैंक खाता छानबिन अनुसन्धान गर्ने विभागमा त्यो व्यहोराको पत्र आइपुगेको छैन। आएपछि हामी हेर्नेछौं’, उनले भने। -नेपालखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *