रविको हिरासत बसाइ लम्बिने, रड काण्डको वास्तविकता यस्तो छ (भिडियो)

समाज
4 Shares

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको हिरासत बसाइ लम्बिने भएको छ ।

पोष्टमार्टम रिपोर्ट

काठमाडौंबाट शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट चितवन पुगेको छैन । पोष्टमार्टम रिपोर्ट आज (सोमबार) चितवन पुग्ने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा मृत्युको कारण झुण्डिएर भएको उल्लेख छ । पूर्ण रिपोर्ट सोमबारसम्म चितवन पुग्ने छ । पोष्टमार्टम रिपोर्ट नआएसम्म अनुसन्धान प्रक्रिया अगाडि बढ्न नसक्ने भएकाले प्रहरीले मंगलबार अदालतमा पेश गरेर रवि लामिछानेसहित तीनै जनाको म्याद थप्ने तयारी गरेको छ ।

किटानी जाहेरी

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका लामिछानेसहित तीन जनाविरुद्ध पीडित परिवारले दिएको किटानी जाहेरी पनि आइतबार बेलुकी चितवन पुगेको छ ।

पुडासैनीको परिवारले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको थियो ।

पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी प्रहरीले जनाएको छ । १३ दिनको संस्कार सकिएपछि किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाको जाहेरीमा उल्लेख गरिएको छ । उनले मुलुकी अपराध संहिताको आत्महत्या दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेकी छन् ।

लामिछाने, कँडेल र कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको पत्रकार पुडासैनीको मोबाइलमा फेला परेको भिडियोमा उल्लेख छ ।

रड काण्ड

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणअन्तर्गत सामाजिक सञ्जालमा रडले हिर्काएको जस्ता अनर्गल प्रचार आएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले यसबारे प्रष्ट पारेका छन् । मल्लको अनुसार पुरानो घाउका खाटा देखिएको विषयलाई विभिन्न युट्युब च्यानलले बंगाएर भिडियो सार्वजनिक गरेको रहस्य सार्वजनिक गरिएको हो ।

एसपी मल्लका अनुसार पत्रकार पुडासैनी एक वर्ष पहिले मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको खुट्टा फ्याक्चर भएको र त्यसैको डाम देखिएको विषयमा मुचुल्का उठाउने क्रममा रड भन्ने शब्द प्रयोग भएको मल्लले बताए ।

युट्युब च्यानलहरुले पहिलेका फुटेजसमेत जोडेर कुटपिटको कुरा गरेको भन्दै प्रहरी प्रमुख मल्लले अनावश्यक हल्ला गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन् ।पुडासैनीका परिवारका सदस्यले पनि शालिकराम मोटरसाइकल दुर्घटनामा परेर उनको खुट्टामा रड राखिएको बताएका छन् ।

पुरानो घाउका डामलाई नयाँ भन्दै घटनालाई मोड्न खोजिएको भन्दै प्रहरीले अनावश्यक प्रचार गर्ने विरुद्ध कडाइका साथ प्रस्तुत हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *