साइन स्टुडियोजमा गायन प्रतियोगिता सम्पन्न

मनोरञ्जन
454 Shares

काठमाडौं । साइन स्टुडियोज काठमाडौंले फर्स्ट साइन स्टुडियोज साइनिङ स्टार गायन प्रतियोगिता २०७५ सम्मपन्न गरेको छ ।

साउन २५ गते शनिबार मैतिदेविस्थित साइनको स्टुडियोमा प्रतियोगितको ग्रान्ड फिनाले सम्पन्न भएको हो ।

गत भदौ महिनादेखि सुरु भएको यो प्रतियोगिता नेपालमै पहलिापटक आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न स्कुलका ५०० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

५०० जना विद्यार्थीमध्ये पहिलो चरणको अडिसनबाट १०० जना विद्यार्थी छनोट गरिएको थियो । दोस्रो चरणको अडिसनबाट ५० जना विद्यार्थीलाई प्रतियोगिताको लागि छनोट गरिएको थियो ।

निर्णायक

प्रतियोगितामा सहभागी विद्यार्थीलाई अडिसनमार्फत छनोट गरिएको थियो । अडिसनमा जज (निर्णायक)को रुपमा सांगितिक क्षेत्रका चर्चित हस्तीहरु लाक्पा शेर्पा, प्याट्रीक सिट्लिङ, बैलाश राई, अनिश श्रेष्ठ, छिरिङ शेर्पा अबिरल, याकुब राई र प्रविण देसार रहेका थिए ।

५० गीत सार्वजनिक

प्रतियोगितामा सहभागी भएका विद्यार्थीका ५० वटा गीत सार्वजनिक समेत भइसकेको छ । उक्त गीतहरु साइन प्रोडक्सन र ओएसआरको युट्युव च्यानलमा हेर्न सकिनेछ ।

विद्यार्थीले गाएको नयाँ गीतहरुमा गितारमा कुमार गुरुङ, ढोलक, तबला र मादलमा कुन्दन शाह, एरेन्जमा याकुब राई, एरेन्ज किबोर्डमा कुशल सिंह र बाँसुरीमा सबिन महर्जनले साथ दिएका थिए ।

सार्वजनिक भएका गीतमा भिडियोग्राफी, फोटोग्राफी तथा सम्पादन सुरत श्रेष्ठले गरेका हुन् ।

क-कसले जिते उपाधि ?

प्रतियोगितामा लिटल एन्जल स्कुल हात्तिवनमा कक्षा १० मा अध्ययनरत सम्भव थापा प्रथम भए । कान्तिपुर इङलिस स्कुल महाराजगन्जमा कक्षा १० मा अध्ययनरत डोल्कर शेर्पा दोस्रो भए भने लिभरपुल स्कुल बानेश्वरमा कक्षा ९ मा अध्ययनरत बेगेन्द्र बुढा तेस्रो हुन सफल भए ।

प्रथम हुने विद्यार्थीलाई ५० हजार बराबरको नयाँ गीत (म्युजिक भिडियोसहित) को कन्ट्रयाक्ट, दोस्रो हुने विद्यार्थीलाई ३० हजार बराबरको नयाँ गीत (म्युजिक भिडियोसहित) को कन्ट्रयाक्ट र तस्रो हुने विद्यार्थीलाई २० हजार बराबरको नयाँ गीत (म्युजिक भिडियोसहित) को कन्ट्रयाक्ट गरिएको छ ।

प्रतियोगितामा अन्य विधातर्फ पनि पुरस्कार प्रदान गरिएको थियो । मोस्ट भ्यूवर युट्युव अन्तर्गत मल्पी सिटी स्कुल विशालटारमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी एरोनलाल श्रेष्ठ पुरस्कृत भए ।

बेस्ट जुरी अवार्ड अन्तर्गत ड्रिमल्यान्ड पब्लिक स्कुल बागबजारमा कक्षा १० मा अध्ययनरत निखिल डंगोल पुरस्कृत भए ।

बेस्ट क्यामेरा पर्फमेन्सको उपाधि ब्राइट फ्यूचर स्कुल नैकापमा कक्षा १० मा अध्ययनरत नागिना श्रेष्ठले जितिन् ।

बेस्ट भोकलको उपाधि विद्या विकास बोर्डिङ स्कुल जावलाखेलमा कक्षा १० मा अध्धयनरत बुद्ध लामाले जितेका छन् ।

प्रतियोगितामा टप १० मा पर्न सफल विद्यार्थीबीच ग्रान्ड फिनाले सम्पन्न भएको हो । टप १० मा पर्न सफल ब्लुबर्ड इङलिस स्कुल ललितपुरका गोबिन टमाटा, एडभान्स इङलिस स्कुल हाँडीगाउँका आरोगी कार्की र मल्पी सिटी स्कुल नक्सालका अबिप बराइलीलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

साइन 7 स्टार एल्बम आउँदै

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थी र विभिन्न चार विधामा उत्कृष्ट हुने विद्यार्थी गरी सात जना विद्यार्थीको गीत साइन 7 स्टार नामक एलबममा समावेश गरिने भएको छ ।

प्रतियोगिता किन ?

शैक्षिक ज्ञानका अलावा विद्यार्थीमा रहेको गायन प्रतिभा प्रस्फुटन गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको साइन स्टुडियोका सञ्चालक अनिश श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सुरेन्द्र श्रेष्ठको संयोजनमा सम्पन्न भएको अनिश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको सल्लाहकारका रुपमा सुनिल केसी, सोदिप श्रेष्ठ, सरिता प्रजापति र जुनु गौतम रहेका थिए ।

प्रतियोगिताको आयोजक साइन स्टुडियोज विगत दुई दशकदेखि सञ्चालनमा रहेको छ । मैततीदेवीमा रहेको यस स्टुडियोबाट हालसम्म हजारौं गीत तथा भिडियो निर्माण भइसकेका छन् । स्टुडियोका सञ्चालक अनिश श्रेष्ठ हुन् । अनिश गायक, संगीतकार, एरेन्जर तथा गीतकार समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *