काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको आलोचना गरेका छन् ।
उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको बताएका छन् ।
आश्चर्यको कुरा
बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकमा नेकपा सांसदहरुले भारतीय दबावसामू सरकार झुकेको आरोप लगाएका थिए । भीम रावल लगायतका सांसदहरुले नेपालले विषादी जाँच्छु भन्दा भारतले नगर भन्नु र सरकार पछि हट्नु गलत भएको बताएका छन् । ‘कुनै देशले नजाँच भन्दैमा चुप लाग्नुपर्ने किन ? यसलाई मैले आश्चर्यका रुपमा लिएको छु’ बैठकपछि नेता रावलले भने ।
किन झुक्ने ?
बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने गर्न नहुने प्रतिक्रिया दिए । सरकारले विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने भन्दै उनले भने, ‘हामी कसैको दबाबको सामु झुक्नु जरुरी छैन ।
ओलीको जवाफ
प्रधानमन्त्री ओलीले भने कसैको दबावले नभई पूर्वाधार नभएकाले निर्णय फिर्ता लिनु परेको बताएका छन् । तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच गर्ने मेसिन छ छैन भने जानकारी नै नभएको भन्दै उनले भने, ‘राम्रो गर्न खोजेका थियौं तर समय भन्दा अगाडि नै थालिएछ’ उनले भने, ‘पूर्वाधार छ कि छैन थाहा भएन । जाँच गर्ने भनेर फाइल ल्याए, झ्याप्पै निर्णय गरेँ ।’
सरकारको आदेश
सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो, जसमा नेपाल आयात गरिने तरकारी तथा फलफुलको सिमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । काठमाडौंस्थित भारतीय दूताबासले लिखित पत्र नै लेखेर सरकारी निर्णयको विरोध गरेको थियो ।
भारतको विरोध
भारतले विरोध गरे लगतै सरकारले तयारी नपुगेको भन्दै नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी जाँच गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।
सामाजिक सञ्जालमा विरोध
कुन आमा ले आफ्नो सन्तान लाइ खाना मा बिष राखेर दिन सक्छिन ??
सरकार आमा हो जनता सन्तान हुन …
सरकार ले आमा भएर अनुभुत गरोस अनि व्यावहार गरोस्याद रहोस,
विषादी छ भन्ने जानीजानी तरकारी खुवाउने सरकार कदापि आमा हुदैन , निर्दयी कहलिनेछ— Pramod Kharel (@kharel777) July 6, 2019
हुतिहार सरकार त एउटा राजदूतसग लुरुक्क परि विषादी चेक गर्ने निर्णयबाट पछि हट्यो तर त्यहि सरकारको बिरोध गर्ने यताका टुइटेले तरकारी आफ्नै बारीमा फलाएर खाए कि खाएनन् ? कि खेतिबारी बाझै राखि त्यहि विषादीवाला तरकारी खादै सरकारलाई गालि गर्दैछन ? यहि यो हो भने तिनलाइ पनि धिक्कार छ ।
— दिपेन्द्र बिष्ट (@rock_7up) July 6, 2019
भारतसँग झुक्नु नै थियो भने किन पहिले नै विषादीयुक्त तरकारी भनेर विज्ञापन गरेको ? किन स्टैन्ड लिन सक्तैनौ ? त्यस्तो विषादी भएको तरकारी तथा खाद्यबस्तु ल्याएर जनताको जीवनमा खेलवाड गर्ने अधिकार कस्ले दियो @Hello_Sarkar ? हैट नालायकीपन !
— Kritika Tharu (नेपाली मन) (@NepaliMaan8) July 6, 2019
भारतिय राजदुतावासको दवावमा भारतिय तरकारीको विषादी जाच नगर्ने सरकारले निर्यण गरेछ । लौ त अब राष्ट्रवादी कांग्रेसले भारतिय राजदूतवासको बिरोध गरेको हेरुम ।
— बिश्वर सिंह राई (@BiswarRai) July 6, 2019
तरकारीको विषादी होइन, राष्ट्रवादको परीक्षण भयो । तिम्रा परालका खुट्टी! लाउड स्पिकरका भरमै टिक्ने! जनताले बुझिसके ।
— Deepak Dahal (@DeepakDahal1) July 5, 2019
विषादी तरकारी प्रतिबन्ध गर सरकार । जनताको अभिमतको समर्थन गर सरकार ।
— Ramesh Kandel (@kandeldai) July 5, 2019
विदेशबाट तरकारी र फलफूल आयात गर्दा
विषादि छ-छैन ? बोर्डरमै ल्याबटेष्ट गरेर मात्र भित्र्याउन सरकारले नियम बनायो, राजपत्रमा प्रकाशित गर्यो र कार्यान्वयनमा लग्यो। भारतीय राजदूतले, "विषादि नजाँच्नु" भनेर दबाव दिनासाथ सरकार छुल्छुलि मुत्दै पछि हट्यो। प्रतिपक्षचाहीं मौन रह्यो।— Ananda Ram Paudel (@AnandaRamPoudel) July 6, 2019