भारतीय बजेटमा नेपालको लागि १७ अर्ब विनियोजन

अर्थतन्त्र
4 Shares

काठमाडौं, २० असार । भारतले नेपाललाई दिँदै आएको अनुदान ४० प्रतिशत वृद्धि गरेको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमनले शुक्रबार लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपाललाई १६ अर्ब ८० करोड रुपैयाँ (१० अर्ब ५० करोड भारतीय रुपैयाँ) विनियोजन गरेकी हुन्।

नेपाललाई अघिल्लो वर्ष छुट्याइएको रकमभन्दा ४ अर्ब ८० रुपैया बढी हो। गत वर्ष भारतले १२ अर्ब रुपैयाँ (७ अर्ब ५० करोड भारतीय रुपैयाँ) विनियोजन गरेको थियो।

भारतले छिमेकी मुलुकलाई दिने अनुदान बजेटमै उल्लेख गर्छ। नेपाल भारतबाट बढी अनुदान प्राप्त गर्ने देशमा तेस्रो स्थानमा परेको छ।

कुन देशलाई कति बजेट ?

सरकारी खर्चकै लागि भारतसँग निर्भर भुटानलाई मोदी सरकारले यो आर्थिक वर्षमा सबैभन्दा बढी ३४ अर्ब १६ करोड रुपैयाँ (२१ अर्ब ३५ करोड भारतीय रुपैयाँ) विनियोजन गरेको छ। यो बाहेक भुटानले १० अर्ब ६५ करोड रुपैयाँ (६ अर्ब ६६ करोड भारतीय रुपैया) ऋण पनि पाउने छ। अनुदान र ऋण गरी भुटानका लागि यो ४४ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

हिन्द महासागरमा अवस्थित मौरिसलाई १७ अर्ब ६ करोड रुपैयाँ, सिसेललाई १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ। म्यान्मारलाई ६ अर्ब ४० करोड रुपैयाँ अनुदानको बिनियोजना गरिएको छ।

भारतले माल्दिभ्सलाई ६ अर्ब ४० करोड रुपैयाँ अनुदान र २ अर्ब ८० करोड रुपैया ऋण उपलब्ध गराउने जनाएको छ। श्रीलंकालाई ४ अर्ब, बंगलादेशलाई २ अर्ब ८० करोड अनुदान उपलब्ध गराउनेछ। अफगानिस्तानमा ६ अर्ब ४० करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउन प्रस्ताव गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *