काठमाडौं । नेपाली कांग्रेस (बिपी) ले सरकारविरुद्ध खबरदारी गर्ने भएको छ । पार्टीको शनिबार बसेको बैठकले सरकारका गलत र मानवअधिकार विरोधी गतिविधिको आलोचना गरेको छ । सरकारले ल्याएका विधेयकमा जनताको हक अधिकार कुण्ठित भएको भन्दै पार्टीले विधेयक सच्याउन पनि सरकारसँग माग गरेको छ ।
पार्टीले उठाएका महत्वपूर्ण विषयलाई समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महामन्त्री सुशीलमान शेरचनले बताए । उनले विभिन्न ठाउँमा मिचिएका नेपालका सीमाको रक्षा गर्न पनि सरकारसँग माग गरेको छ । लिपुलेकमा पुगेर नेपालको झण्डा गाड्ने समेत पार्टीले निर्णय गरेको छ ।
पार्टीले ३ वटा विभाग गठन गरेको छ । विभागका सदस्यहरु पनि चयन गरेको छ । विभागका केही सदस्य भने पछि चयन गरिने जनाइएको छ ।
संगठन विभागको प्रमुखमा महामन्त्री सुशीलमान शेरचन, अर्थ विभागको प्रमुखमा विष्णुप्रसाद ढकाल र प्रचार प्रकाशन विभागको प्रमुखमा महेशमान सिंह चयन भएका छन् । शेरचनको विभागमा सज्जन भट्टराई र सुशीलराज वाग्ले सदस्य रहेका छन् । त्यसैगरी ढकालको विभागमा महेशमान सिंह र उमेश तिमिल्सिना सदस्य रहेका छन् । प्रचार प्रकाशन विभगमा प्रमुख सिंहले नै सदस्य चयन गर्नेछन् ।
पार्टीले प्रदेश सरकार र संसदको औचित्य नरहेको निश्कर्ष पनि निकालेको छ । प्रदेश सरकार र प्रदेश संसद खारेज गर्न माग गरेको छ । पार्टी महामन्त्री सुशीलमान शेरचनले देशलाई थप संकटमा पार्ने गरी संघीयताको उदय भएकाले प्रदेश सञ्रचनाको अर्थ नभएको बताए ।
‘प्रदेशले झन् संकट निम्त्याएको छ, यस्तै हो भने देश कंगाल हुन्छ’ शेरचनले भने ‘ जुन ढंगले संघीयताको परिकल्पना गरिएको त्यो भएन, देशको बिकास र समृद्धि पनि नारामै मात्र सीमित भयो ।’ बैठकले शेरचनबाट प्रस्तुत राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । उप सभापति झलकनाथ वाग्लेद्धारा प्रस्तुत अवधारणापत्रलाई संशोधनसहित पारित गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुशीलराज वाग्लेले जनाए । ‘पार्टीले समग्र विषयमा छलफल गरेको छ, विशेष गरी आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषय मुख्य एजेण्डा थियो’ सुशीलराज वाग्लेले भने ‘ पार्टीप्रतिको जनताको विश्वास बढ्दै गएकाले एउटा रणनीति बनाएर जानुपर्नेमा सबैको एकमत रहयो ।’
बैठकले वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नै मूल मन्त्र मानेको छ । पार्टीले विभिन्न जिल्लामा जिल्ला समिति , भ्रातृ संस्था, शुभेच्छुक संघ बनाउँदै आएको छ । नेपाली कांग्रेस छोडेर आउनेको संख्या बढ्दै गएको केन्द्रीय सदस्य उमेश तिमिल्सिनाले बताए ।
‘कांग्रेसले आफ्नो लाइन छोडिसकेको छ त्यसैले पनि यही पाराले कांग्रेस टिक्न सक्दैन’ तिमिल्सिनाले भने ‘ हामी पार्टी खोल्ने र नेता बन्ने सोचमा मात्र आएका होइनौं, केही विकल्प दिएर छोड्छौं ।’ गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको केही दिनअघिमात्र स्थापना भएको पार्टीले करुवा चुनाव चिन्ह पाएको छ ।