वीरगञ्ज, २७ जेठ । विभिन्न व्यक्ति र संस्थासँग ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा एक अस्पताल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजको छपकैयामा रहेको एसिया मेडिकेयर हस्पिटल प्राईभेट लिमिटेडका संचालक २८ वर्षीय सुरजकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । उनले ४० भन्दा बढी व्यक्ति र संस्थासँग ५ करोड ७७ लाख ठगी गरेको दावी प्रहरीले गरेको छ ।
बाराको कलैया नगरपालिका १३ घर भइ वीरगञ्ज महानगरपालिका २ बस्ने सर्राफले वीरगंजको छपकैयामा एसिया मेडिकेयर हस्पिटल सञ्चालन गर्दै आएका थिए ।
पर्सागढी नगरपालिका ६ बस्ने राकेशकुमार यादवसमेतको जाहेरीका आधारमा सर्राफलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीविरुद्ध बैंकिङ कसुर अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
त्यसैगरि प्रहरीले वीरगञ्ज महानगरपालिका १० बस्ने नितेश सर्राफलाई पनि पक्राउ गरेको छ । सिरहाको साविकको विद्यानगर गाविस १ घर भइ वीरगञ्ज ३ बस्ने रामकेवल मण्डलको १० लाख ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।