सुर्खेत, २४ चैत । शनिबार बेलुका आएको भारी बर्षापछि खसेको पहिरोका कारण कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् ।
दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने दहीखोलामा पहिरो खसेको छ । पहिरो पन्छाउन ढिलाइ हुँदा दुई दिनदेखि यात्रु समस्यामा परेका छन् ।
पहिरो गएको ठाउँ नजिक खानेकुरा र पानी समेत पिउन नपाएको यात्रुहरु बताउँछन् ।
पानी बेलाबेलामा परिरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक डिभिजन कार्यालयका कर्मचारीहरु राजमार्ग खुलाउने प्रयासमा लागिरहेका छन् ।
सडक डिभिजन कार्यालय जुम्लाले दहीखोला, किट्टुभीर र पादुका खोलाको पहिरो पन्छाएको छ भने गगनेखोलामा पहिरो पन्छाउने काम भइरहेको छ ।