काठमाडौं, २० चैत । काठमाडौंको सुकेधारामा ‘निहोन एजुकेशन कल्चर्स’को स्थापना भएको छ । बागमती बोर्डिङ स्कुलमा स्थापना भएको यस संस्थाले जापानिज भाषाका विभिन्न कोर्षको अध्ययन अध्यापन गराउनेछ।
पूर्व रक्षामन्त्री एवं सांसद भीमसेनदाश प्रधान र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले संयुक्त रुपमा निहोन एजुकेशन कल्चर्सको समुद्घाटन गरेका हुन् ।
नेपालका लागि जापानी राजदूत सामामिची साइगोले नेपाल जापान सम्बन्ध सांस्कृतिक धार्मिक र आर्थिक रुपमा अत्यन्त मजवुत रहेको भन्दै यस्ता अध्ययन केन्द्रको माध्यमबाट अझ दुई देशबीचको सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धको विकासमा मद्दत पुग्ने बताए ।
हालै नेपाल सरकार र जापान सरकारबीच भएको उच्चस्तरीय भ्रमण र बैठकका कारण दुई देशबीच श्रम सम्झौता भएको उल्लेख गर्दै राजदूतले जापानका लागि दक्ष-अर्धदक्ष कामदारको ठूलो आवश्यकता रहेको बताउँदै जापानिज भाषा र संस्कृतिको जानकार हुनुपर्ने हुँदा त्यसलाई पूरा गर्न यस अध्ययन केन्द्रले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सांसद प्रधानले जसरी भगवान् गौतम बुद्धका कारण नेपाल-जापानबीच सम्बन्ध स्थापित भएको छ, त्यसलाई अझ उचाईमा पुर्याउन यस निहोन एजुकेशन कल्चर्स सेन्टरले सहयोग गर्ने विश्वास लिए ।
यस एजुकेशन कल्चर्समा विभिन्न विश्वविद्यालयका प्रोफेसरले अध्यापन गराउने हुँदा अध्ययन गर्ने विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने र नेपालीहरुलाई जापानिज भाषा र संस्कृतिको ज्ञान दिन यस एजुकेशन कल्चर्स सेन्टर सफल हुने विश्वास व्यक्त गरे ।
प्रा.डा. सुरेन्द्र सिटौलाले जापान र नेपालको सम्बन्ध ऐतिहासिक रहेको र त्यसलाई प्राविधिक र गुणस्तरीय शिक्षाबाट समेट्नुपर्ने धारणा राखे । जापान र नेपालबीचको धार्मिक, सांस्कृतिक सम्बन्धका कारण जुन मित्रता कायम भएको छ, त्यसलाई तल्लोस्तरसम्म अझ मजबुत बनाउन यस भाषा केन्द्रले सहयोग गर्ने टिप्पणी गरे । आमविद्यार्थीका लागि सर्वसुलभ शुल्क लिएर सञ्चालन हुने जानकारी समेत सिटौलाले दिए ।
कार्यक्रममा नेपाल जापान फ्रेण्डसिप सोसाइटीका अध्यक्ष लेखनाथ घिमिरे, पूर्वसचिव तुलसी सिटौलालगायतको उपस्थिति थियो ।