प्रधानमन्त्रीसँग असन्तुष्टि: ‘हेलिकोप्टरमा उडेरमात्र हुँदैन, पाल खसाइदिनोस्’

समाचार
124 Shares

बारा, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरबाट मात्र निरीक्षण गरेपछि हावाहुरीबाट पीडित नागरिकले गुनासो गरेका छन् ।

आइतबार राति वर्षासँगै आएको हावाहुरीले बाराको फेटा गाउँपालिका प्रभावित भएको छ । सबैभन्दा धेरै धनजनको क्षति भएको फेटामा प्रधानमन्त्री ओलीसहितको टोली जाने भनिएको थियो ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनललगायतका मन्त्रीहरु भने विहानैदेखि फेटामा छन् । मन्त्री सोनलले हेलिकोप्टर चढेर राहत नहुने भन्दै पाल, ब्लांकेटलगायत आवश्यक सामग्री पठाउन माग गरेका छन् ।

जितेन्द्र सोनलले भने,

-हेलिकोप्टरमा उडेर राहत हुँदैन, यहाँ मान्छेलाई पाल छैन, स्रोत साधन छैन । पाल खसालिदिनु पर्‍यो नि ।

-हामी यहाँ जिरो ग्राउण्डमा छौं । उहाँहरुलाई मैले देखेको पनि छैन । केन्द्रीय सरकारसँग आग्रह छ, प्रधानमन्त्रीजीसँग आग्रह छ, कृपया पाल पठाउनु पहिले । राति सुत्नलाई पाल छैन । कमसेकम ५ हजार परिवारलाई पाल चाहिन्छ ।

-हावाहुरी प्रभावितलाई खानेकुराको व्यवस्था स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले गर्ने छ ।

हवाइ निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण गरेका छन् । झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको अवस्थाबारे जानकारी गराएका छन् ।

घाइतेहरुसँग भेटघाट

घटनाको ब्रिफिङ लिइसकेपछि प्रधानमन्त्री ओलीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *