कविता:
रिमा केसी
आउ मेरा नयनमा डुबुल्की मार
सागर छ यहाँ
तिमी छालहरुसँग भलाकुसारी गर
भावनाको गहिराइमा आफैलाई भुलेर हराऊ
त्यतै कतै हुनेछु म तिम्रो इशाराको पर्खाइमा
तिमी मेरा आँखाहरु देख्छौ टिलपिल.. टिलपिल…
कहिल्यै नसुक्ने अथाह समुद्र
जो कहिलेकाहीँ साउने भेल बन्छ
र बाढीझैँ बहुलाएर
बगाउँछ पीरवेदनाका डङ्गुरहरु
यिनै आँखा नै हुन्
जहाँबाट कहिले ज्वालामुखी उम्लिएझैँ
लाभा बनेर निस्कन्छ मन
कहिले डढेलो लागेको जङ्गलजस्तै
हृदय जलेको धुवाँ र खरानीले पुत्ताउँछ
कहिले तिम्रै प्रेमको प्रेमिल वर्षा बनेर
मेरो आत्मामा शितलता दिन्छ
अब तिमि आऊ प्रिय
मेरो यो मरुभूमिजस्तो दिलमा
प्रेमसुधा बर्साउने मरुद्यान बनेर छाऊ !!