काठमाडौं, १३ चैत । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई यस सिजनको आइपिएलमा दिल्लीले पहिलो रोजाइमा खेलाउने क्रिकेट पण्डितहरुले विश्लेषण गरेका थिए । तर दिल्लीले सन्दीपलाई सुरुवाती दुई खेलमा मौका दिएन ।
मुम्बई इन्डियन्सविरुद्धको पहिलो खेलमा मौका नपाएका सन्दीपले मंगलबार चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा समेत मौका पाएनन् ।
दिल्लीले सन्दीपलाई नखेलाउनुको कारणबारे क्रिक इन्फोले दुई जना विश्लेषकलाई सोधेको छ ।
ब्राड हजले सन्दीपलाई दिल्लीले टिममा ‘मिस’ गरेको बताएका छन् । उनले सन्दीप विपक्षीका लागि खतरा बन्न सक्ने बताउँदै भनेका छन्, ‘उनी अमित मिश्रा जस्तै विपक्षी टिमका लागि खतरा बन्न सक्थे ।’
अर्का विश्लेषक दीप दासगुप्ताले सन्दीपले दिल्लीको पिचमा राम्रो बलिङ गर्न सक्ने बताएका छन् । ‘जडेजा जस्तै लामिछानले पनि राम्रो गर्न सक्थे’ उनको भनाइ छ ।