विवाह के हो ? : विवाहको उत्पति कसरी भयो ?

SOCIETY
Spread the love

काठमाडौं, ९ चैत ।  विवाहको जीवशास्त्रीय व्याख्याले भन्छ, ‘पुरुषको हिंस्रकपनालाई शान्त पार्न विवाहको उत्पति भएको हो ।’ तर, सामाजशास्त्रीहरू यो व्याख्या स्विकार्दैनन् । समाजशास्त्रीहरू विवाहलाई समाजको आधारभूत संस्था मान्छन् । विवाहको उत्पति मानव सभ्यताको उत्पतिसँग जोडिएको उनीहरूको भनाइ छ । विवाह मूलतः दुई विपरीत लिंगका (समलिंगीलाई पनि मान्यता दिने बहस चलिरहेको छ) मानिसलाई सन्तान उत्पादन गर्न यौन सम्बन्धको अनुमति, परिवार स्थापनाको अनुमति, सन्तानको लालनपालन र आर्थिक क्रियाकलापमा संलग्न हुन दिइएको सामाजिक स्विकृति मान्छन् समाजशास्त्रीहरू ।

समयक्रमसँगै विवाहको स्वरूप र उद्देश्यमा समेत परिवर्तन आयो  । अपवादबाहेक अब समूह विवाह, अनमेल विवाह, बहुपत्नी–बहुपति विवाह, हाडनाता विवाह समाजमा अस्तित्वमा रहेनन् । अब जोडी छनोट गर्ने तरिका फेरियो । इच्छाविपरीत महिलालाई वनको बाटैबाटो घिसारेर लैजाने चलन पनि फेरियो । विवाहमा आएको परिवर्तनलाई बदलिँदो समाजको बिम्ब मान्छन् समाजशास्त्रीहरू ।

‘घुमन्ते युगमा मानिस समूहमै बस्थे, समूहमै शारीरिक सम्पर्क गर्थे’, समाजशास्त्री मधुसूदन सुवेदी भन्छन्, ‘त्यसवेला विवाह भन्ने संस्थाको महत्व नै थिएन । मेरो श्रीमान्, मेरी श्रीमती भन्ने चलन नै थिएन ।’ मानिस समूहमा बस्न थालेपछि र निजी सम्पत्तिको उदय भएपछि विवाह संस्था प्रस्ट देखिन थालेको सुवेदीको अध्ययन छ । ‘दास युगमा महिलालाई मान्छे नै नगन्ने चलन थियो,’ उनी भन्छन्, ‘जीविकोपार्जनमा सबै लाग्नुपर्ने भएपछि महिलालाई श्रमशक्तिका रूपमा मात्रै लिइयो । तर, सुरुदेखि नै निर्णय प्रक्रियामा महिलालाई सहभागी गराइएन ।’

मानवशास्त्री सुरेश ढकाल समाजको जीविकोपार्जन गर्ने तरिका बदलिँएसँगै विवाहमा परिवर्तन आएको बताउँछन् । विवाह संस्थाको जन्म कृषि युग सुरु भएपछि मात्रै भएको उनको अध्ययन छ । भन्छन्, ‘परिवार र निजी सम्पत्तिको उदयसँगै विवाह संस्था प्रबल हुँदै आयो । मानव सभ्यताको लाखौँ वर्षको इतिहासमा विवाहले परिवारको रूप लिएको पछिल्लो ८/१० हजार वर्ष मात्रै भयो ।’

श्रीमान्-श्रीमती सम्बन्ध : त्रसित श्रीमान्, स्वतन्त्र श्रीमती !शिर्षकमा शनिबारको नयाँ पत्रिका (झन नयाँ) बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *