काठमाडौं, ७ चैत । कामना न्युज पब्लिकेसन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक)का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा केही दिनदेखि उपचार भैरहेको छ ।
करिब चार महिना अघि नाकमा समस्या भएका कारण भारतको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएपनि उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा परेपछि पुर्ण रुपमा निको हुन सकेको छैन ।
स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उहाँलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो र केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उहाँलाई Guillain-Barre syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उहाँलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो ।
काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेपारीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेपारीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।
नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उहाँमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबार देखि नेपाल मेडिसिटी अस्पताल लगि सघन उपचार कक्षमा उपचार हुँदै आएको छ । उहाँको नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै आए पनि उहाँको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।