बधाई छ डियर !

BLOG
Spread the love

कविता:
गोपाल झापाली 

गाउँमा तिमिले छोडेको बारी बाँझै बिजोग छ,
आलि धुर भत्किएको वर्षौ भयो
काँस फुलेर स्याल लुक्ने भयो
गाउँका ठिटालाई सुई हान्ने आफ्नै क्लिनिक भयो
बजारमा आएछौ, ढलाने घर बनाईछौ
छतमा गमला राखेर खुर्सानी फलाएछौ
फेसबुकमा तिम्रो बहादुरी देखेँ, बधाई छ डियर तिम्रो मेहनतलाई ।

गाउँमा बाख्राको खोर तिमि पस्दैन थियौ,
किनकी तिमिलाई एलर्जी हुन्थ्यो, दवाईनै खानु पर्थ्यो
साँझमा माउ बाख्री खोरमा हाल्देउन कहिल्यै भनिन
पाठोलाई स्यालले लग्ला, डोकाले छोपि देउन पनि भनिन
बजारमा आएछौ, बेलायती डगी किनिछौं
उ बिरामी भएको थाह पाएँ, तिम्रो स्टाटस बाट
‘आज मेरो टोनी बिरामी छ, केहि त खाई देउ प्लिज’
तिम्रो टोनी प्रति समर्पित भावनाले आँखा रसाए
कठै कति मायाँ, चिसो लाग्छ भनेर ओछ्यान एउटै रछ
फेसबुकमा तिम्रो कोमलता देखेँ, बधाई छ डियर तिम्रो ममतालाई ।

घरकी आमाले तातो पानी माग्दा तिम्रो माथा रन्किन्थ्यो
बुबाले कुँडो पकाउन भन्दा फोक्सो फर्किन्थ्यो,
बजारमा आईछौ, मनकारी भईछौ
बर्थडे सेलिब्रेसन बृद्धाश्रममा मनाउन थालिछौ
ठण्डिबाट जोगाउन एक्लिएका बृद्धबृद्धालाई मण्डि बाँडिछौ
‘गुड, तपाईको महानताबाट अरुले पनि सिक्नु पर्छ’
तिमिलाई दिएको कमेन्टे पढेँ
फेसबुकमा तिम्रो महानता देखेँ, बधाई छ डीयर तिम्रो समाजसेवालाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *