एजेन्सी, ३० फागुन । भारतको गुजरातस्थित राजकोटमा मोबाईल गेम पब्जी खेल्न प्रतिबन्ध लगाइएको छ। यो प्रतिबन्धपछि पनि पब्जी खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनीहरुको साथबाट अनुसन्धानका लागि मोबाईल फोन समेत जफत गरेको छ। प्रहरीका अनुसार उक्त गेम खेलिरहेका ती युवाहरु यति क्रेजी भएका थिए कि प्रहरीहरु उनीहरुलाई पक्राउ गर्न नजिकै आउँदा समेत उनीहरुले थाहा पाएनन्।
प्रहरी अधिकारी मनोज अग्रवालले मार्च ६ मा एक सुचना जारी गर्दै पब्जीलाई राजकोटमा बन्देज लगाइएको थियो। पक्राउ परेकाहरुलाई प्रहरीको सुचना उल्लंघन गरेको आरोपमा कारवाही अघि बढाइने भएको छ।
यस खेलले युवा तथा बालबालिकाहरुमा हिंसात्मक प्रवृति बढाएको, अध्ययनमा असर पुर्याएको, भाषा र आचरणमा असर पुर्याएको भन्दै प्रहरीले राज्य सरकारको निर्देशनमा बन्देज लगाइएको प्रहरी अधिकृत अग्रवालले बताए।