काठमाडौं, २७ फागुन । आइतबार भएको इथियोपियन विमान दुर्घटनामा विमानमा रहेका सबै यात्रु १५७ जानको मृत्यु भयो । मृतकमध्ये एक नेपाली युवती रहेको पुष्टि भएको छ ।
मुत्यु हुने नेपालीमा गोरखा जिल्लाकी एकता अधिकारी रहेकी छिन् । एकता इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) कार्यालयमा कार्यरत थिइन् ।
एकता डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन इथियोपियन विमानमार्फत नैरोबी जादै थिइन् ।
डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले आफ्ना कर्मचारी उक्त दुर्घटनामा परेको पुष्टि गरेका छन् ।
विमान दुर्घटनामा ३३ देशका नागरिक मृत्यु भएको एयरलाइन्सले पुष्टि गरेको छ । जसमध्ये ३२ जना केन्याली, १८ जना क्यानाडाका नागरिक, इथोपियन ९, चिनियाँ ८ र ४ जना भारतीय यात्रु रहेका छन् ।
नेपालस्थित डब्ल्यूएफपी कार्यालयले ट्वीटरमार्फत एकताको निधन भएको पुष्टि गरेको छ । डब्ल्यूएफपी नेपालले ट्वीटरमा लेखेको छ, ‘एक प्रतिभाशाली मानवतावादी जसले धेरै जनाको जीवनमा खुसी ल्याएकी थिइन् ।’
WFP stands in solidarity with family members to mourn Ekta Adhikari who died yesterday on the Ethiopian Airline tragedy. A talented humanitarian who brought joy to many lives. pic.twitter.com/q3Ixv5nGzt
— WFP Nepal (@WFP_Nepal) March 11, 2019
यूकेबाट एमबीए अध्ययन गरेकी एकता गत डिसेम्बर महिनादेखि इथियोपियास्थित डब्ल्यूएफपीमा सप्लाई चेन अफिसरका रूपमा कार्यरत थिइन् ।
त्यसअघि गत वर्ष सेप्टेम्बर महिनासम्म उनी नेपालमै कार्यरत थिइन् । गत वर्ष पपुआ न्यूगिनीमा भूकम्प गएपछि उनलाई त्यहाँ पठाइयो । पपुआ न्यूगिनीना दुई महिनासम्म काम गरेपछि गत सेप्टेम्बरदेखि उनी इथियोपियामा थिइन् ।
जोगिए एक नेपाली
उक्त विमान दुर्घटनाबाट एक नेपाली युवा भने जोगिएका छन् । सोही विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागि हुन केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी भने हवाई टिकटमा भएको ढिलाइका कारण जोगिएका हुन्।
जिसीले फेसबुक पेजमा स्टाटस पोष्ट गर्दै कार्यक्रमका लागि प्राप्त टिकटका अनुसार आफू उक्त बिमानमा हुनुपर्ने उल्लेख गर्दै आफू नेपालमै रहेको र ठिक रहेको बताएका छन् । साथै आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण उनले सुष्मा दाहाल पोख्रेललाई पनि धन्यवाद दिएका छन् ।
यो पनि पढ्नुहोस्ः