काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राज्यको माग गरेर हिँडेको समूह देशको भौगोलिक अखण्डतालाई स्वीकार गर्दै मूल धारको राजनीतिमा आउनु ठूलो उपलव्धि भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले अब देशमा राजनीतिक आन्दोलनका चरणहरु सकिएको बताए । सीके राउतले विखण्डनको कुरा छोडेर सरकारसँग गरेको सहमति केहीलाई चित्त नबुझेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
आइतबार किसान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब कुनै पृथकतावाद छैन, समूह संगठन छैन नेपालमा, यद्दपी केही मान्छे कुनाकाप्चामा त्यसबाट छटपटाएका छन् परोलिएका छन् । विरालो रिसायो भने खाबो चिथोर्छ भने जस्तै’ प्रधानमन्त्री ओलीले थपे, ‘पृथकतावाद छोडेर मूलधारमा आउनु र त्यसरी ल्याउनु सकारात्मक र सफता होइन भने के हो त सफलता ?’
हामीलाई उत्तर चाहिन्छ: गगन थापा
नेपाली कांग्रेसका सांसद गगन थापाले पृथकतावादको नारा लगाइरेको स्वतन्त्र मधेश गठबन्धबीच भएको सहमतिको आआफ्नै व्याख्याले समस्या उत्पन्न भएको बताएका छन् ।
आइतबार संसद बैठकमा बोल्दै सांसद गगन थापाले सहमतिमा प्रयोग भएको शव्दावलीमा दुई पक्षको आ–आफ्नो व्याख्याले सकारात्म वातावरणलाई संशयमा ल्याएको बताए । थापाले भने, ‘केका लागि जनमत संग्रह कसका लागि जनमत संग्रह, हामीलाई उत्तर चाहिन्छ ।’
नेपालको सरकार र पृथकतावादको नारा लिइरहेको गठवन्धनबीच संविधानको हक भित्र मधेस र मधेशीको हक खोज्ने भनी भएको सहमति सकारात्मक भए पनि सहमतिको पृष्ठभूमी र शैलीले अदालत र सरकारको बीच कतै मिलेमतो त छैन भन्ने गम्भीर प्रश्न उठाएको थापाले बताए ।
जनमतसंग्रह गर्नेबारे सहमति भएको छैन: गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले स्वतन्त्र मधेश गठबन्धसँग सरकारले गरेको सहमति देशको लागि ठूलो उपलव्धि भएको बताएका छन्।
आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकार र सीके राउत समूहबीच भएको सहमतिका बारेमा प्रश्न उठाएपछि सरकारको तर्फबाट गृहमन्त्री थापाले संसदमा जानकारी गराएका थिए ।
भौगोलिक अखण्डताको रक्षाका लागि राउत पक्षसँग भएको सहमति उपलव्धि पूर्ण भएको र संविधानको पक्षमा रहेको बताए । सहमतिका बारेमा दुई खालका प्रश्नहरु उठिरहेको गृहमन्त्री थापाले बताए ।
सरकार र गठवन्धसँगको सहमति कुनै पक्षको आत्मसमर्पण नभइ स्वाधिनताको रक्षाका लागि भएको गृहमन्त्री थापाले बताए । गृहमन्त्री थापाले कतिपयले सहमतिको दोस्रो बुँदामा आपत्ति जनाएको र जनमतसँग्रहको रुपमा अर्थ लगाइएको भन्दै त्यसमा सत्यता नभएको दाबी गरे ।
‘जनअभिमत भन्ने शव्दलाई जनमतसंग्रहको रुपमा व्याख्या गर्न खोजिएको छ । यो वा त्यो प्रदेशलाई नेपालबाट अलग गर्ने खालको सहमति भयो भन्ने आएको छ’ गृहमन्त्री थापाले संसदमा भने,‘यो भ्रामक कुरा हो, संविधानले जनमत संग्रहद्वारा कुनै राज्य नेपालबाट अलग हुने कुरा गरेको छैन ।’
ओलीको राष्ट्रवाद राउतको पाउमा पल्टियो: कांग्रेस प्रवक्ता
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको गम्भीर आरोप लगाएका छन् । काँग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभामा प्रवक्ता शर्माले प्रधानमन्त्रीको राष्ट्रवाद दिन प्रतिदिन उदाङ्गो हुँदै गएको बताए ।
सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री ओली फसेर सम्झौता गर्न बाध्य भएको उनको तर्क थियो । ‘केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो’ शर्माले भने, ‘जुन विषयमा जनमतसंग्रह गर्नै सकिँदैन भन्ने संविधानमा उल्लेख छ, त्यसैमा लम्पसार पर्नुभयो ।’
शर्माले कम्प्युनिष्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश चल्न नसक्ने बताए । दुई तिहाईको सरकार भएकोले ५ वर्षमा काम गरेर देखाउने समय भए पनि एक वर्षमा संकेत दिन नसकेको उनको टिप्पणी थियो ।