होम सुवेदी
बेलुका चाँडै घर पुग्छु भन्दाभन्दै प्रवेशजीलाई घर पुग्न ढिलो भो । डराउँदै डराउँदै घरमा पसे । पस्नासाथ डाँट आइलाग्यो – “अनि किन यति ढिलो भो आज ?” पत्नीको प्रश्न थियो । “फोन गर्दा कतिपटक काटेको ? बरु भ्याउँदिन भनेको भए त हुन्थ्यो नि !” उनी अझ तिखो वचनमा कड्किइन् ।
“हैन, बाइकमा थिएँ, कता उठाउनु नि बाटोमा ? तिमीले नै भनेको हैन बाइकमा हिंडेको बेला फोन नउठाउनु भनेर ?” “हो नि हुन त तर कसको फोन हो भनेर यसो हेर्नु त पर्छ ? कस्तो उल्लु मान्छे ! आफूलाई शहर गएर केके गर्नु थियो । सब खतम पारिदिनु भो । अब भोलि कसरी जानु ? कपाल पनि हेरिनसक्नु छ । फेसियल गर्नु थियो । थ्रेडिङ नगरेको कति भो !”
“मैले पनि भोलिको तयारीका लागि मिलाउनु परेकाले ढिलो भयो, लौ केही छैन, तयार पर चाँडो, अझ पनि भ्याइन्छ ।” प्रवेशजीमाथि जति कडाइको वचन भए पनि उनले रिसाउनु हुन्न । उनी पनि यस्तै वचन गर्दा हुन् त लडाइँ पर्दो हो तर एक जना आगो भए अर्कोले पानी हुनै पर्छ । उनको मनमा कुरा खेले । पत्नी हतारहतार तयार परिन् ।
वास्तवमा नारीदिवसको कार्यक्रम सेट गरेर फिरेका थिए । उनी राजधानीको एक प्रसिद्ध आइएनजीओमा सम्बद्ध छन् । राम्रै बजेट आएकोले अन्तरराष्ट्रिय नारीदिवस होटल सागरमा भव्य रुपले मनाउने कुरा भएकोले उनलाई यसको तयारीमा दिउसोभरि सयम लागेको थियो । घरमा पत्नीको अब कुन उग्र रुप हुने हो भन्ने जग्जगी मन भरि लिएर घर पुग्दा आज सोचे जति कठोर उनकी पत्नी देखिइनन् ।
‘सायद नारी दिवस भएर होला’ सोच्तै पत्नीलाई टिपेर उनी लागे सहरतिर । तर उनको रुचाएको ब्युटी पार्लरमा भने निकै लामो लाइन रहेछ । “तपाईंले गर्दा त हो नि…!” भुत्भुताउँदै लाइनमा बसिन् । प्रवेशजी पनि उनको पालो कतिखेर आउने हो भनेर बाहिर कुरेर बसेका छन् ।