भारत-पाकिस्तानबीच युद्धको सम्भावना

UNCATEGORIZED
Spread the love

बीबीसी, १४ फागुन । भारतीय वायुसेनाले भारत-पाकिस्तान लाइन अफ कन्ट्रोल अर्थात् नियन्त्रणरेखा उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् ‘मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए । त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ ।’

उनले ट्वीटमा भनेका छन्, ‘भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे । पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले ।’

‘भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे । त्यसबाट कुनै हानि या कोही हताहत भएको छैन ।’

भारतीय वायुसेनाका सूत्रले बीबीसीसँग भारतीय वायुसेनाका विमानहरू नियन्त्रणरेखापारि गएका र केही स्थानमा आक्रमण भएको स्वीकारेका छन् ।

वायुसेना अधिकारीहरूका अनुसार सो कारबाहीका लागि मङ्गलवार बिहान तडके अम्बालाबाट केही मिराज विमानहरू उडेका थिए ।

तर अन्तर्राष्ट्रिय सीमा उल्लङ्घन नगरी लक्ष्यित स्थानमा बम खसालिएको उनीहरूको दाबी छ ।

भारत र पाकिस्तानबीच कश्मीरको पुलवामामा भएको आक्रमणपछि तनावको स्थिति रहेका बेला पाकिस्तानको यस्तो दाबी सार्वजनिक भएको छ ।

भारतको आरोप

फेब्रुअरी १४ का दिन भएको आक्रमण पाकिस्तानले गराएको आरोप भारतीय पक्षले लगाएको छ र उसलाई अलग्याइदिने चेतावनी दिएको छ ।

सो घटनामा ४६ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारी तथा षड्यन्त्रकारीहरूले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।

पाकिस्तानको प्रतिक्रिया

पाकिस्तानले भने आक्रमणमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशमाथि आक्रमण भए प्रतिकार गर्ने बताएका थिए।

वार्ताबाट मात्र कश्मीरको विवाद समाधान गर्न सकिने तर भारतले सैन्य कारबाही गरे आफूले प्रत्युत्तर दिने उनले बताएका थिए।

कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ ।

उचित समयमा जवाफ

भारतले पाकिस्तानको बालाकोटमा गरेको बम हमलापछि बसेको पाकिस्तानी मन्त्रिमण्डलले उचित समयमा यसको जवाफ दिने बताएको छ । साथै भारतले गरेको सीमा रेखा उल्लंघनको विषयलाई अन्तराष्ट्रियकरण गर्ने बारेमा पनि छलफल भएको पाकिस्तानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

कश्मीरमा के भएको थियो ?

भारत प्रशासित कश्मीरको पुलवामामा एक आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरिएको एउटा गाडी भारतीय अर्धसैनिक बल सीपीआरएफका सुरक्षाकर्मीहरू बोकेका ७८ वटा गाडीहरूको लस्करमा लगेर जोतिदिएका थिए । त्यसमा परेर ४६ जना को ज्यान गयो ।

ती आक्रमणकारी १९ देखि २१ वर्ष उमेर भएका स्थानीय कश्मीरी युवा भएको बताइएको छ ।

पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु समूह जैश‍ ए मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ । भारतले भने पाकिस्तान नै सो आक्रमणमा संलग्न भएको आरोप छ ।

त्यसको चार दिनपछि आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल राशिद गाजीसमेत तीनजना सन्दिग्धहरू सुरक्षाकर्मीको कारबाहीमा मारिएका भारतीय सैनिक सूत्रले दाबी गरेको छ ।

भारतको आक्रमण

भारतले भारत पाकिस्तान नियन्त्रणरेखा उल्लङ्घन गरेर पाकिस्तानपट्टि हवाई आक्रमण गरेको स्वीकारेको छ ।

भारतका विदेशसचिव विजय गोखलेका अनुसार मङ्गलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश-ए-मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको छ ।

यसअघि भारतीय वायुसेनाका विमान पाकिस्तानी आकाशमा छिरेका तर पाकिस्तानी पक्षले प्रतिकार गरेपछि ती विमानहरू भागेको दाबी पाकिस्तानी सेनाले गरेको थियो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरका अनुसार भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे। त्यसबाट कुनै हानि या कोही हताहत भएको छैन ।

भारतीय विदेशसचिव गोखलले गुप्तचरी सूचनाका आधारमा सो कारबाही गरिएको बताएका छन् ।

युद्धको सम्भावना

भारतीय वायु सेनाले पाकिस्तानमा बमबारी शुरु गरेपछि दुई देशबीच फेरि युद्ध भड्किने सम्भावना बढेको छ ।

भारतीय वायु सेनाको १२ वटा लडाकु विमान पाकिस्तान प्रवेश गरेर पाकिस्तानी खैबार पख्तुनवा क्षेत्रमा गरेको बमबारीमा कम्तिमा ३ सय जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय लडाकु विमानले पाकिस्तानी भूमिका २१ मिनेटसम्म बमबारी गरेका थिए ।
भारत र पाकिस्तानबीच भएको १९७१ को युछपछि पहिलो पटक भारतीय सेना पाकिस्तानी सीमामा प्रवेश गरेर आक्रमण गरेको हो ।

भारत प्रशासित कश्मीरको पुलवामा जिल्लामा भएको आतंकवादी हमलामा ४४ जना भारतीय सेनाको मृत्यु भएपछि सो घटना पाकिस्तानमा लुकेर बसेको आतंकवादीले मच्चाएको भारतले दावी गर्दै आएको छ ।

त्यसपछि भारतले पाकिस्तानलाई विश्वबाट अलग्याइदिने चेतावनी दिएको थियो । पाकिस्तानतिर बग्ने नदीको पानी समेत भारतले रोक्ने निर्णय गरेको छ भने केही वस्तुमा भारतले नाकाबन्दी पनि लगाएको छ ।

चीन पनि बोल्यो

बढ्दो तनावकाबीचमा तेस्रो मुलुक चीनले पनि यस विषयमा प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तान र भारत दुवै देशले संयम्ता अपनाएर समाधान खोज्नुपर्ने बताएको छ ।

‘हामीलाई आशा छ, पाकिस्तान र भारत दुवैले संयम्ता अपनाएर स्थीरता कायम गर्नका लागि आवश्यक कदम चाल्नेछन् । जसले गर्दा यस क्षेत्रमा सहमति कायम हुन सक्ने छ’ चीन विदेश मन्त्रालयका प्रवक्ता लु काङले भनेका छन् ।

नेपालमा जुलुस

भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालमा मोटरसाइकल जुलुस निकालिएको छ । मङगलबार मधेसी दलका युवाहरुले मोटरसाइकल जुलुस निकालेका हुन् ।

राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवासंघ र राष्ट्रिय विधार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको सन्देश दिन मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको बताए ।

वीररगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट राजपाका नेता तथा युवा विधार्थीहरुले निकालेको र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वा हुदै पुन घण्टाघरचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

मोटरसाइकल रयालीमा सहभागीहरुले आतंकवाद र आतंकवादीलाई संरक्षण दिनेविरुद्ध चर्को नारावाजी गरेका थिए । उनीहरुले नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुनेभन्दै आतंकवाद र आतंकवादीलाई विश्वबाटै समाप्त पार्न जरुरी रहेको बताए ।

उनले आतंकवाद विरुद्धको लडाइमा भारतलाइ साथ दिन नेपालका युवाहरु तयार रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *