काठमाडौंमा मन बहलाउने ठाउँ ‘गार्डेन अफ ड्रिम्स’ : १९ तस्विरमा हेर्नुहोस्

स्वास्थ्य/जीवनशैली
127 Shares

काठमाडौं, २१ माघ । काठमाडौंको भिडभाड, व्यस्त दैनिकी र धुलाम्य सडकबाट केही छुटकारा लिन चाहनेहरुका लागि काठमाडौंमा एउटा गज्जबको ठाउँ छ, गार्डेन अफ ड्रिम्स अर्थात स्वप्नबगैँचा ।

काठमाडौंको ठमेलसँगै केशरमहलमा अवस्थित गार्डेन अफ ड्रिम्स जति मिठो नाम छ, त्यति आकर्षक, मनमोहक र शान्त पनि छ । प्रतिव्यक्ति १०० रुपैयाँको टिकट काटेर गार्डेनमा दिनभर घुम्न पाइन्छ ।

यस गार्डेन नेपालीका साथै विदेशी पर्यटकको रोजाइमा पर्ने गर्छ । नेपालीका सथै विदेशी पर्यटकहरुले गार्डेनमा आनन्द लिइरहेका देखिन्छन् । काठमाडौंबासीलाई मन बहलाउने गतिलो विकल्प हो गार्डेन अफ ड्रिम्स ।

यो ऐतिहासिक र पर्यटकीय बगैंचालाई प्राकृतिक संग्रहालय पनि भनिन्छ। सन् १९२० मा नेपाली सेनाका फिल्ड मार्शल केशरशम्शेर जबराले निर्माण गरेको वगैंचा वेलायती राजा किङ एडवार्ड सातौंको बगैंचाबाट प्रभावित छ। केशरशम्शेरको मृत्युपछि सरकारलाई हस्तान्तरण गरिएको यो पार्क पुनर्निर्माणपछि २०६४ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

मायालु जोडी मस्त गफमा व्यस्त देखिन्छन् । अध्ययन गर्नेहरु अध्ययनमा डुबिरहेका हुन्छन् । ध्यान गर्नेहरु ध्यानमा मग्न हुन्छन् । तस्विर खिच्नेहरु विभिन्न पोजमा ढल्किँदै तस्विर खिचिरहेका हुन्छन् । कोही सेल्फी क्लिक गर्नमा व्यस्त हुन्छन् । ससाना बालबच्चादेखि वृद्धवृद्धा रमारहेका देखिन्छन्, गार्डेनभित्र ।

भिडियोमा हेर्नुहोस् ‘गार्डेन अफ ड्रिम्स’

केशर महलको कथा

गार्डेन अफ ड्रिम्सको नाम आउनासाथ त्यससँग केशर महल जोडिन्छ। हाल केशर महल रहेको क्षेत्र कुनैबेला तत्कालिन राणा हस्तीहरु धीर शमशेर, उनका भाइ वीर शमशेर र जित शमशेरको थियो। पछि जित शमशेरले सो क्षेत्र नेपालका पाचौँ राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई बेचे। उनले त्यहाँ अवस्थित पुरानो संरचना हटाएर सन् १८९५ मा नयाँ संरचना निर्माण गरे। सन् १८९२ मा चन्द्र शमशेरले सो संरचना आफ्ना छोरा केशर शमशेरलाई दिए। त्यसपछि त्यस भवनको नाम केशर महल रहन गयो।

उनले पछि त्यहाँ पुस्ताकालय र बगैँचा निर्माण गरे। केशर शमशेर पुस्तकका निकै सौखिन थिए। त्यहाँ स्थापना गरिएको पुस्तकालयमा करिब ५० हजारभन्दा बढी पुस्तक, पत्रपत्रिका, पाण्डुलिपी र कागजातहरु रहेको विश्वास छ। त्यहाँ रहेका धेरै पुस्तक उनले बेलायत भ्रमणमा जाँदा ल्याएका थिए। ‘कमाण्डर इन चीफ’ समेत भएका उनको बेलायतसँगको साइनो निकै बलियो थियो। पटक–पटक भ्रमणमा गइरहन्थे। उतिबेलाको केशर बगैँचा अर्थात, हालको गार्डेन अफ ड्रिम्स पनि उनको बेलायत भ्रमणका कारण नै बन्न पुगेको मानिन्छ। यसको प्रशंग पनि निकै रोचक छ।

जूवामा जितेको पैसाले बगैँचा

केशर शमशेर एकपटक बेलायत भ्रमणमा गएका थिए। उनले त्यहाँ बेलायती राजा एडवार्ड सातौँको बगैँचा (एडवार्डियन गार्डेन) देखे। जसबाट उनी निकै प्रभावित भए। उनलाई नेपालमा पनि त्यस्तै बगैँचा बनाउन मन लाग्यो, अझ आफ्नै केशर महलमा। सो कुरा उनले आफ्ना बाबु चन्द्र शमशेरलाई सुनाए।

‘शेखर शमशेर बेलायत भ्रमणमा गइरहनु हुन्थ्यो, सोही क्रममा त्यहाँका राजाले बनाएको गार्डेन देखेर केशर महलमा पनि त्यस्तै गार्डेन बनाउने ईच्छा उहाँले आफ्नो बाबुलाई सुनाउनुभयो र बन्यो पनि’, गार्डेन अफ ड्रिम्स विकास समितिका बोर्ड सदस्य फिन्जो शेर्पाले नेपालखबरसँग भने।

तर, शेर्पाले भनेजस्तै सजिलोगरी भने बनेको होइन केशर बगैँचा। केशरले बगैँचा बनाउन चन्द्र शमशेरलाई अनुरोध गरे तापनि चन्द्रले उनको अनुरोध स्वीकारेनन्। त्यसपछि केही समय यो कुरा त्यत्तिकै सेलायो।

राणाहरु जूवा खेल्नमा निकै रुची राख्थे। विशेष चाडपर्वमा त अझ परिवारका मुख्य सदस्य भेला भएर कौडा खेल्थे। चन्द्र शमशेरसँग जूवा खेल्दा केशर शमशेरले एक लाख रुपैयाँ जिते। र, त्यस पैसाले केशर महलमा एडवार्डियन गार्डेनजस्तै बगैँचा बनाउन लगाए।

‘खास बगैँचा बन्नुको रहस्य त यस्तो रहेछ निरु’ बोर्ड सदस्य शेर्पाले प्रश्नपछि मुख खोले, ‘हामीले पनि त्यही सुनेका हौँ, आँखाले देखेको चाहिँ होइन। धेरै इतिहासका जानकारहरुले यसै भन्ने गर्नुहुन्छ। त्यसलाई आधार मानेर हामीले पनि अहिलेसम्म मानेकै छौँ।’

संस्कृतविद् सत्यमोहन जोशी उतिबेला राणाहरु यमपञ्चमीमा विशेष महत्वका साथ जूवा खेल्ने गरेको स्वीकार्छन्। नेपालखबरसँग जोशीले भने, ‘राणाहरु तिहारमा खुबै जूवा खेल्थे, जूवामा जितेको पैसाले खुसीयाली मनाउन केशर शमशेरले बगैँचा बनाएका हुन सक्छन्।’

बगैँचाभित्रै कौडा

बगैँचा जूवा खेलेर जितेको पैसाले बनाएको प्रमाण बगैँचाभित्र पनि छ। त्यहाँ धनकी देवी लक्ष्मीको मूर्ति छ। त्यसकै आडमा कौडाको तस्बिर छ। त्यसको संकेत के हो त रु बगैँचाको रेखदेखमा झन्डै १८ वर्ष बिताएका तारा दाहाललाई यसको राज थाहा छ। भन्छन्, ‘केशर शमशेरले आफ्ना बाबुसँग जूवामा एक लाख रुपैयाँ जितेर यो बगैँचा बनाउनु भएको हो। जूवामा पैसा जितेकाले उहाँले यसको श्रेय धनकी लक्ष्मीलाई दिनुभयो र लक्ष्मीको मूर्तिसँगै कौडाको बिम्व पनि बनाउन लगाउनु भयो।’

उनको कुरामा साँच्चीकै दम छ। हरेक ऐतिहासिक स्थलमा कुनै न कुनै प्रतिकात्मक चिन्ह लुकेका छन्। जुन कुरा गार्डेन अफ ड्रिम्समा पनि छ। तर, धेरैले यसको अन्दाज लगाएका छैनन्।

यसरी बन्यो केशर बगैँचा गार्डेन अफ ड्रिम्स

सन् १९२० को दशकमा बनेको केशर बगैँचा केशर शमशेरले आफ्नो मृत्यु ९सन् १९६४० अघि तत्कालिन श्री ५ को सरकारलाई हस्तान्तरण गरे। केशर शमशेरको मृत्युपछि बगैँचा अस्तव्यस्त बनिसकेको थियो। लामो समय बगैँचाको स्वरुप खन्डहरजस्तै रह्यो। भनिन्छ नि १२ वर्षपछि बगेको खोला पनि फर्कन्छ। बगैँचाको सवालमा पनि त्यस्तै भयो। अष्ट्रियन सरकारले १० लाख डलर सहयोग गरेपछि नेपाल भ्रमण वर्ष २०६४ मा आएर यसले पहिलेकै रुप पायो र, गार्डेन अफ ड्रिम्स अर्थात स्वप्न बगैँचा बन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *