काठमाडौं, १७ माघ । युएईविरुद्धको पहिलो टी-२० खेलमा नेपाल २१ रनले पराजित भएको छ । दुबईको आइसिसी एकेडेमिमा भएको खेलमा युएईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि टी-२० मा डेब्यू गरेका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतक पूरा गरे । उनले ५३ रन बनाए । जोराले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सोमपाल कामी २७ रन लिए। अन्तिम ओभरमा २६ रन आवश्यक भएको बेला उनी पहिलो बलमै आउट भए ।
त्यसअघि खराब सुरुवात गरेको नेपालका ओपनर प्रदीप ऐरी गोल्डेन डकआउट भएका थिए । लगत्तै ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ४ रनमा पेभिलियन फर्कनुपर्यो ।
त्यसपछि कप्तान पारस खड्का पनि आउट हुँदा नेपाल दबाबमा परेको थियो । प्रदीप ऐरीसँगै ओपनिङमा आएका पारस २५ बलमा २५ रन जोडेर आउट भए । पारसले ४ चौका प्रहार गरेका थिए । यस्तै रोहित कुमार पौडेल र करण केसी पनि ४ रनमा आउट भए ।
टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाउन सफल भयो ।
नेपालका बसन्त रेग्मी र सन्दीप लामिछानेले २-२ विकेट तथा अभिनास बोहोरा र सोमपाल कामीले १-१ विकेट लिएका थिए ।