काठमाडौं, १२ माघ । कथाकार तथा गीतकार गंगा सुवेदी साहित्यसँगै समाजसेवा र सञ्चारकर्ममा पनि सक्रिय छिन् । चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष सुवेदी विभिन्न संस्थाहरुमा आबद्ध भएर समाजको जागरणमा सक्रिय छिन् । ‘बोल्छन् आँखाहरु’, ‘आफ्नै कलामा आफ्नै सिर्जना’, ‘घाम अझै डुबेको छैन’ लगायतका दर्जनौं कृतिहरुको रचना गरिसकेकी सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंशः
अहिले केमा व्यस्त हुनुहुन्छ ?
चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आफ्नो स्थापनादेखि नै धर्म–संस्कृति, समाजसेवा, साहित्यलगायतको संरक्षण र प्रवद्र्धनका लागि काम गर्दै आएको छ । हामीले यस वर्षको विभिन्न ५ विधाका पुरस्कार भर्खरै घोषणा गरेका छौं । साहित्यतर्फ प्राडा कपिल लामिछाने, धर्म–संस्कृतितर्फ प्राडा सोमप्रसाद खतिवडा,समाजसेवातर्फ रमेश नेपाल, पत्रकारितातर्फ युवराज घिमिरे र कलाकारीतामा मिथिला शर्मालाई सम्मान गर्ने घोषणा गरिसकेका छौं । प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर माघ २६ गते सम्मान समारोह आयोजना हुँदैछ । अहिले यही काममा व्यस्त छु ।
तपाईको नयाँ कृति नआएको धेरै भएन ?
म आफ्नो एघारौं कृति निकाल्ने तयारीमा पनि छु । डिकुरा पब्लिकेशनमार्फत नयाँ कथासंग्रह निस्कदैंछ । चाडैं बजारमा आउँछ ।
मोफसलमा रहेर साहित्य सिर्जना गर्न कत्तिको गाह्रो छ ?
सिर्जनालाई समय, परिवेश र भूगोलले बाँध्न सक्दैंन । जुन बेला मानिसको दिमागमा कुनै कुरा क्लिक गर्छ । त्यहीबेला त्यसलाई रचनात्मक रुपमा उतार्ने हो । मेरा केही राम्रा रचनाहरु किचेनमा काम गर्दागर्दै फुरेका पनि छन् । त्यसैले ठाउँ र परिवेशभन्दा रचनाको दम ठूलो हुन्छ । जहाँसम्म, मोफसल र राजधानीको कुरा छ । राजधानीमा साहित्यको प्रवद्र्धन गर्न जति सहज छ । मोफसलमा केही गाह्रो देखिन्छ ।
तपाई कस्ता कथाहरु लेख्न रुचाउनुहुन्छ ?
यर्थाथ धरातलमा उभिएर हाम्रो समाजको चित्रण गर्ने र त्यसमा जुन नकारात्मक कुराहरु हाबी हुन खोजिरहेका छन् , त्यसलाई सिर्जनाको माध्यमबाट सरक्क पन्छाउने प्रयोग गर्छु ।
साहित्यमा आएका नवयुवा–युवतीहरुलाई के सल्लाह दिनुहुन्छ ?
नयाँ पुस्ताले गहन अध्ययन गर्नुभएको छ । उहाँहरुबाट राम्रा सिर्जनाहरु पनि भएका छन् । समाजमा उपलब्धि दिएका पनि छन् । त्यस्तै, केही त्यस्ता नयाँ युवा–युवतीहरु पनि छन् , जसले मरिमेटेर एउटा कृति निकाल्छन् । तर, कसैले वाह– वाह गरिदिएपछि एकाएक सेलाउछन् । कोही त वरिष्ठ भएँ भनेर त्यतिमै थन्कन्छन् । साहित्यमा फलेको वृक्ष जहिल्यै नुहेको हुन्छ नि । त्यही सिद्धान्त लागु हुन्छ । जति झुकेर हामी म्रा यथार्थ केलाउन थाल्छौं । त्यति नै निखारिन्छ । त्यसैले सधैं रचना गरिरहन आग्रह गर्छु । निरन्तरको मेहिनतले निरन्तरको निखार ल्याउँछ ।
महिला र पूरुषबीच साहित्यमा कत्तिको विभेद छ ?
विभिन्न सोच र परिस्थितीले जकडिएका मानसिकताहरु छन् । ती सबै एकथरी हुँदैनन् । हामीले पुराना ग्रन्थ हेर्दा पनि यसैको झल्को पाउँछौ । बुझ्नुपर्ने यो हो कि विश्वबजारमा जानसक्ने छुट, अध्ययन गर्नसक्ने छुट सबैलाई चाहिन्छ । यसको उपयोगितालाई मनन गरेर समाजमा उत्कृष्ट सिर्जना दिन्छु भनेर महिलाहरु लाग्नुभयो भने उत्कृष्ट हुन्छ । अहिलेका महिलाहरु जागरुक हुनुहुन्छ । उहाँहरुका सिर्जनाहरु उत्कृष्ट भएर आएका छन् । त्यो राम्रो हो ।
पुरुषले दमन गर्यो भन्ने गुनासो पनि आउँछ । यो यथार्थ हो । तर पुरुषसँग दमित नहुनका लागि उहाँहरुले के गर्नुभयो त ? यो प्रश्न आफैंले आफैंलाई गर्न सक्नुपर्छ । समस्यालाई आफैंले फेस गर्न सक्नुपर्छ । आफ्नो जीवनको आधा समय हामी अरु नै काममा व्यस्त हुन्छौं । नियमित काम वा पेशा व्यवसायबाट समय निकालेर साहित्यका लागि हामीले दिने समय भनेको १० प्रतिशत मात्रै होला । यस समय पनि उसै बित्यो भने हामीले समाजलाई के दिने ? यस विषयमा सोच्न जरुरी छ ।
विगत र अहिलेको समयमा पूरुष र महिलाबीचको खाडल कत्तिको पुरिएको महसुस गर्नुहुन्छ ?
हाम्रो समयको कुरा फरक थियो । चन्डी पाठ गर्दा महिलाहरुलाई भित्र छिर्न हुँदैन भनिन्थ्यों । आखिरमा कसको उपसनाभन्दा त देवीकै हो । तर, महिलालाई नै बन्चित गरिएको छ । सुरुमा जान हुँदैन भनेपछि गइएन । तर, यो त किताब न हो । नारीको उपासना हो । नारीले उपासना किन गर्न हुँदैन भनेर मेरो मष्तिष्कले सोच्न सक्ने भएपछि आफैं पढ्न थालें । मलाई कुनै कुरा सही लागेपछि त्यस बाटोमा हिंड्नबाट रोक्न जोकोहीलाई हम्मे–हम्मे नै पर्छ । त्यसैले परिवारले पनि सहयोग गर्दै गयो । साहित्य सिर्जनामा अघि बढें ।
अहिले म मकालु टेलिभिजनमा ‘चेतना प्रवाह’ कार्यक्रम चलाउँछु । त्यो कार्यक्रममा मैले जति पुरुषहरुलाई बोलाएर अन्तर्वार्ता लिए । उहाँहरु खुला र निर्धक्क रुपमा आफ्ना धारणा राख्नुहुन्छ । महिलाहरुलाई बोलाउँदा उहाँहरु कतिपय विषयमा खुल्न सक्नुहुन्न । कि भने उहाँहरुको सबैभन्दा ठूलो कमजोरी आर्थिक रुपले कमजोर हुनु वा पूरुषमा आश्रित हुनु हो । जब कोही व्यक्ति अरुको भर परेको छ भने खुलेर आफ्नो धारणा बनाउन सक्दैन । भोली कहाँ जाने भन्ने हुन्छ । समाजलाई आरोप लगाउन सहज छ । खुम्चिएर बस्ने पनि छन् । खुलेर अघि बढ्ने पनि छन् । यद्यपी, खुलेर अघि बढ्नेलाई समाजले सहयोग नै गर्छ ।
मेरो बुझाईमा पौराणिक ग्रन्थहरुदेखि नै महिलाहरु बाँधिएका छन् । ग्रन्थकारहरुले जुन कुराले बाँध्नुभयो । त्यो छँदैछ । जति पनि व्रत र पुजाहरु गर्नुपर्छ । धेरै महिलाले गर्नुपर्छ । महिला चितामा जाँदा पनि पुरुषले बार्नुपर्दैन । छोराहरुले बारे पुग्छ भन्छन् । जबकी महिला सती जानुपथ्र्यो । यस्तो धरातलमा उभिएको समाजमा जसरी पनि मानसिकता परिवर्तन हुँदै आएको छ । त्यसलाई भने सुखद मान्नुपर्छ ।
मिडियाको भूमिकालाई कसरी लिनुभएको छ ?
मिडियाले उत्पिडित समुदायको आवाज बुलन्द बनाउनका लागि सकारात्मक भूमिका खेलेको छ । तर समाज बिस्तारै परिवर्तन हुन्छ । पहिले त महिलाकै मानसिकताबाट हामी कमजोर छौं भन्ने जरो उखेलिनुपर्यो । लेखकको दायित्व नै समाजलाई उठाउनु हो । समाजले फलो गर्नका लागि लेखक पनि ती सबै रिस्कहरु उठाएर अघि आउन सक्नुपर्यो । सर्जकहरुले लेख्नुहुन्छ । प्रकाशित गरेर लेख्नुहुन्छ । तर त्यो कुरो सम्बन्धित निकायसम्म पुग्यो वा पुगेन भन्ने महत्वपूर्ण हुन्छ । जबसम्म देशको नीति–निर्माण तहमा रहेकाहरु, राजनीतिज्ञहरुले पढ्दैंनन् । तबसम्म महत्वपूर्ण विषयहरु पनि ओझेलमा पर्छन् । हो, लेखकका रचनाहरु देशको नीति–निर्माण तहमा बस्नेहरुको पहुँचमा पु¥याउन भने मिडियाको भूमिका महत्वपूर्ण हुन्छ । कम्तिमा पनि मिडियामार्फत यो पुस्तकले यस्तो विषय उठान गरेको छ भनेर नेता वा सम्बन्धित व्यक्तिहरुले थाहा पाउन सक्नुहुन्छ । त्यही ठूलो हो । नत्र, धेरैजसो पुस्तकहरु छाप्नका लागि छापिन्छन् । जसका लागि लेखिएको हो । उसले नै पढ्दैन ।
कस्ता कृतिहरु आउन आवश्यक छ ?
हामीले कृति मात्रैे लेख्ने हो वा समाज परिवर्तन वा मार्गनिर्देशन गर्नका लागि कृति लेख्ने हो भन्ने विषय महत्वपूर्ण हुन्छ । मार्गनिर्देशन गर्ने हो भने त्यसअनुसारको कृति लेख्नुपर्यो । त्यो ठाउँमा पुगेर वास्तविकता अध्ययन गर्नुपर्यो । हामीले छिटो स्थापित हुनका लागि मात्रै लेखेर भएन । समय लगाएर ठाउँमा पुगेर लेखिएको कृति सर्वोत्कृष्ट हुन्छ । एउटै आमाले जन्माएका सन्तान पनि कुनै व्यर्थ र कुनै उत्कृष्ट हुन्छन् । एउटै हातका औंला पनि बराबर हुँदैनन् । तर बराबर हुनका लागि के गर्नुपर्यो । हामी त चेतनशिल मान्छे हौं नि । यसको मतलब मैले लेखेको भएन भनेर निराशावादी पनि हुनभएन । राम्रो लेख्ने प्रयास गर्नुपर्यो ।