काठमाडौं, २४ पुस । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी करिब तीन दशकदेखि प्राध्यापनमा सक्रिय छन् । केसीका झण्डै दुई दर्जन पुस्तक, सयौं लेख रचना प्रकाशित भइसकेका छन् । अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा उनले ग्राजुएट गरेका हुन् । डा. केसीसँग वर्तमान राजनीतिक सेरोफेरोमा गरिएको कुराकानीः
भ्रष्टाचार निवारणको लागि सम्पति छनविन गर्ने कानुनमा आधार छन् । त्यो टेकेर अघि बढ्न सकिन्छ । त्यो किन भइरहेको छैन ?
यहाँ व्यक्तिमा, फालानोमा वा रविन्द्र अधिकारीमा होइन, यहाँको प्रणाली नै गलत छ । नैतिकता, सदाचार, जवाफदेहीता, पारदर्शितामा चल्ने प्रणाली भनेको वेष्ट मिनिस्टिरियल प्रणाली हो । तर हामी इष्टन पार्ट अफ ग्लोबमा छौं । वेष्ट मिनिस्टिरियल प्रणाली अवलम्बन गर्ने मुलुकको संस्कार, संस्कृति र हाम्रो संस्कार संस्कृतिमा धेरै फरक छ । यूकेमा एक जना मन्त्री हाउसमा ५ मिनेट ढिलो आए । म ५ मिनेट ढिलो आएँ, तपाईंहरुलाई झन्झट भयो भनेर उनले तुरुन्तै राजीनामा दिए । अब हाम्रो यहाँ त जति आरोप लागे पनि म कुनै हालतमा राजीनामा दिन्न भन्छन् । हेर्नु त युवा बोलेको(रविन्द्र अधिकारीप्रति इंगित गर्दै) । सबैभन्दा आशा गरेको युवा नेता यस्तो भएपछि प्रधानमन्त्री खड्ग प्रसाद (केपी) ओलीप्रति हामीले के आशा गर्ने ?
प्रणाली व्यवस्थित हुन राज्यका सबै निकाय बलिया हुनुपर्छ । त्यस्तो किन हुन सकेन ?
हो, अख्तियारमा त्यस्तै छ । लोकसेवामा जानुभयो भने त्यहाँ पनि त्यही हालत छ । निर्वाचन आयोग त्यस्तै छ । अब रेशम चौधरीको कुरा गरौं न । चौधरीको विषयमा तल कुरा गर्ने होइन, यो त माथिबाट थाल्नुपर्छ । यस घटनाको इफेक्ट होइन कज हेर्नुपर्छ । रेशम चौधरीलाई त्यहाँ पुर्याउने त निर्वाचन आयोग हो नि । त्यतिखेर नै उनी अभियुक्त थिए । उनको निवेदन लिएर आउने बित्तिकै यीनी त फरार अभियुक्त हुन्, हामी खोजि गरीरहेका छौं यीनी कहाँ छन्, निवेदन कहाँबाट आयो ? भन्नुपर्नेमा निर्वाचन आयोगलाई नै प्रयोग गरेर उनीहरुले रेशम चौधरीलाई माननीय बनाएर त्यहाँ पुर्याए । अब तल यीनीहरुले सपथ ग्रहण गराउँदिन भनेर हुन्छ ? अब यीनका हातमा छ र त्यो कुरा ।
साम्यवाद र समाजवादका कुरा गर्छन् नेताहरु । व्यवहारमा कति प्रतिशत देखिन्छ ?
मैले कम्युनिज्ममा पीएचडी गरेको हुँ । नेपालको कम्युनिस्ट आन्दोलन वास्तविक कम्युनिस्ट आन्दोलन होइन । टाठाबाठा, पढेलेखेका, महत्कांक्षी वाममार्गी तप्काको आन्दोलन मात्र हो । अहिले त अझ यो त्यो भन्दा बढी भ्रष्टिकरणको ठाउँमा आइपुगेको छ । शहिद कहाँ छन् ? बेपत्ता कहाँ छन् ? विस्थापित कहाँ छन् ? शहिदका छोराछोरीको अवस्था के छ, के गर्दै छन् ? अनि सरकारमा मन्त्री को हुन्छ प्रधानमन्त्री को हुन्छ ? यसैबाट प्रष्ट भैहाल्छ नि ।
देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार अराजकता व्याप्त छ । भविष्य कस्तो देख्नुहुन्छ ?
यी सबै असफल राष्ट्रका जडहरु हुन् । सबै फटाहा, सबै बेइमान, हरेकले हरेकलाई अविश्वास गर्ने संस्कार हामीमा छ । यस्तो प्रवृत्ति भनेको असफल राष्ट्रको प्रवृत्ति हो । मुलुक असफल राष्ट्रतर्फ गइरहेको छ । अब यो सबै कुराको इफेक्ट देखिन्छ । मुलुकमा द्धन्द पनि बढ्न सक्छ । करिब करिब राज्यहिनताको फेजमा हामी आइसक्यौं । नेपाली जनता लामो समयदेखि मिलेर बसेका र राज्यको बलियो उपस्थिति भएका हुनाले अहिले नै मुख छोडे पनि हात छोडेका छैनन्, नेपालीहरुले । तर जनताले सधैं यो प्रणाली सहिरन्छन् र देश यसरी नै अघि बढिरहन्छ भन्ने मलाई लाग्दैन । हामी तातो भुंङग्रोमाथि बसिरहेका छौं ।
राजनीति र अपराध
नेपालमा राजनीतिको अपराधिकरण र अपराधकको राजनीतिकरण भएको छ । राजनीति र अपराध घुलनमिलन भयो । समाजमा सुशासन र समृद्धि ल्याउने, सामाजिक आर्थिक रुपान्तरण गर्ने कुरालाई राजनीति भनिन्छ । तर, यहाँ राजनीति भनेको जसरी पनि सत्तामा जाने, आफ्ना छोरी बुहारीलाई मन्त्री प्रधानमन्त्री बनाउने अनि मालामाल हुने भनेर बुझे यहाँका मान्छेले ।
कति दुखको कुरा छ भने, देशमा माधव कुमार नेपाल जस्तो नेतालाई प्रयोग गरेर एउटा धार्मीक मतलाई प्रचार गरियो । त्यसको संगठन र संरचनालाई विस्तार गरियो । त्यस कार्यक्रमका लागि प्रधानमन्त्री नै सोल्टी होटलमा गएर ३ ३ दिन बसे । दुर्भाग्यले त्यो संस्थाको मुल उदेश्य विश्वबाट कम्युनिज्म सिध्याउने भन्ने पनि रहेछ । विश्वबाट कम्युनिज्म सिध्याउने भन्ने संस्थाको अभियानमा कुनै देशको कम्युनिस्ट नेता लाग्यो भनेपछि रात परेन त यो देशमा ?