काठमाडौं, १६ पुस । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठको मृत्यु भएको छ ।
उनीहरु गत ५ गते हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते भएका थिए । पाँच दिनको अन्तरालमा उनीहरुले ज्यान गुमाएका हुन् ।
उनीहरुका डेढ वर्षको छोरा अस्पतालमा उपचाररत छन् ।
दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन सकेको छैन । तर, घटनास्थलको प्रकृति हेर्दा हिटरको ग्यास लिक भएर आगलागी भएको देखिएको छ ।
‘ढोकामा चुकुल लगाएर, ढोकानेर हिटर बालेर उनीहरु ममः खान थालेको बेला हिटरबाट ग्यास लिक भएको हुन सक्छ,’ जोशी दम्पत्तिसँग निकट इन्जिनियर दिनेश भट्टले बताए ।
आगो कोठा बाहिर भने फैलिन पाएन । कोठाभित्र पनि ओछ्यान सद्दे छ । हिटर ढोकैमा भएकाले उनीहरु चुकुल खोलेर बाहिर निस्कन सकेनन् । झ्यालको शिशा पनि फुटाइएको छ । तर, झ्यालमा ग्रिल भएकाले त्यहाँबाट निस्किन सम्भव थिएन ।
उनीहरुले गुहार गुहार भनेर कराउँदा छिमेकका मान्छेहरु ढोका थुनेर बसेछन्,’ दिनेशले भने । निकै बेरपछि सो घरका घरपट्टलिे प्रहरीलाई फोन गरेर बोलाएका थिए ।
प्रहरी आएर ढोका खोल्दा तीनै जना बेहोस अवस्थामा थिए । अप्सराले बच्चालाई कभर गरेकी थिइन् भने पुष्करले अप्सरालाई कभर गरेका थिए । त्यसैले सबैभन्दा बढी पुष्कर जलेका थिए । उनको हात सबैभन्दा बेसी जलेको थियो ।
‘पुष्करले दुवै हातले आगोको लप्का छेकेर श्रीमती र छोरालाई बचाउन खोजेको देखिन्छ,’ दिनेशले भने ।
आमा र बाबुले कभर गरेकाले बच्चा भने धेरै जल्न पाएनन् । यद्यपि, उनी पनि बेहोस अवस्थामै थिए ।
प्रहरी आएर तीनै जनालाई नजिकै रहेको सहिद मेमोरियल अस्पताल पुर्याए । अस्पतालले बिरामीको अवस्था जटिल भएपछि किर्तिपुर अस्पताल रिफर गरिदियो ।
किर्तिपुरमा पुर्याउनासाथ पुष्कर र अप्सरालाई भेन्टिलेटरमा राखेर उपचार सुरु भयो । तर, उनीहरु होसमा आउन सकेनन् । पुष्करको दुवै हात काम नलाग्ने भएकाले काट्नुपर्ने चिकित्सकहरुले बताए । र, काटियो पनि । तर, पनि उनको ज्यान जोगिन सकेन । ११ गते राति बिहिबार पुष्करको मृत्यु भयो ।
यता अप्सराको अवस्थामा पनि सुधार आएन । उनलाई किर्तिपुर अस्पतालबाट भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा लगियो । भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा आज बिहान उनको मृत्यु भएको छ ।
उनीहरुको डेढ वर्षको छोरा यतिबेला भक्तपुर अस्पतालमा छन् । उनी खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।-अनलाइनखबरबाट