काठमाडौं, १६ पुस । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एप, भाइबर र इमो मार्फत ठगी गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा ‘तपाईँको नाममा पार्सल आएको छ’ भन्दै म्यासेज गरेर लाखौं ठगी गर्ने एक विदेशी नागरिक र एक नेपाली महिला आइतबार पेप्सीकोलाबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा आईभरीकोष्टका नागरिक ओवात्तारा अल्लाकाग्नी र नेपाली महिला कुसुम कायस्थ छन् । उनीहरु काठमाडौंको पेप्सिकोलामा फ्ल्याट लिएर लिभिङ टुगेदरमा बस्दै आएका थिए ।
ठगी धन्दा
भारतिय नम्बरबाट भाइबर, इमो तथा ह्वाट्सएप मार्फत अपरिचित व्यक्तिहरुलाई सम्पर्क गर्दै ‘तपाईँको नाममा आएको पार्सल लिनका लागि चार्ज तिर्नुपर्छ’ भन्दै बैंकको खातामा पटक–पटक रकम जम्मा गर्न लगाएर उनीहरुले ठगी गर्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरज प्रताप सिंहले जानकारी दिए ।
विभिन्न आश्वासन देखाएर पटक-पटक बैंक खातामा रकम जम्मा गर्न लगाएर उनीहरुले ८ जना बाट लाखौं ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुसुम र ओवात्ताराले १४ लाख ३४ हजारभन्दा बढी ठगी गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उनीहरु बिरुद्ध ठगी मुद्धामा म्याद लिएर थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।