काठमाडौं, पुष १ । चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसदमा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरूलाई निम्तासमेत दिएका थिए ।
तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदीको स्थलगत अध्ययनसमेत गरेको छैन । नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’ (आन्तरिक जलमार्ग) अध्ययन समितिका प्रतिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन् ।
प्रगति शून्य
प्रधानमन्त्रीको घोषणालाई आधार मान्ने हो भने यतिवेला नेपालका नदीमा जलमार्ग सञ्चालनका लागि संरचना निर्माण भइसकेको हुनुपर्ने हो, तर हालसम्म यसका लागि न कानुन बनेको छ, न संरचना बनेको छ, न त पूर्वाधार निर्माण नै भएको छ । केवल अध्ययन समितिले अध्ययन र अवलोकन गर्ने काम मात्रै गरेको छ ।
संसदबाटै प्रधानमन्त्रीले दिएका थिए निम्तो
बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले १५ असारमा भनेका थिए, ‘पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन्, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ । दुई वर्षअघि म प्रधानमन्त्री हुँदा नै बोलेको हुँ । सन् २०१८ सम्म भ्याइएन भने ठीकै छ, सन् २०१९ को पुस १६ लाग्ला । तर, स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरूलाई ।’ -नयाँ पत्रिकाबाट