मुलुकमा अस्थिरता फैलाउने योजनावद्ध चलखेल हुँदैछ : महेश बस्नेत

NEWS
Spread the love

काठमाडौं, २४ मंसिर ।  २०५४ सालमा भएको स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा महेश बस्नेत निर्वाचित भए । त्यतिबेला उनको उमेर २३ बर्ष थियो । देशभरकै सबैभन्दा कान्छो गाविस अध्यक्ष बन्दै उनी नेपाली राजनीतिमा उदाउन सफल भए । तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारमा उनी उद्योग मन्त्री बनेका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भए । उनी अहिले भक्तपुरको विकास निर्माण र समृद्धिको लागि क्रियाशील छन् । बस्नेतको कार्यशैली र व्यवहार जनप्रिय देखिन्छ । पछिल्लो समय भक्तपुरको विकास निर्माणमा सक्रिय बस्नेतसँग देशको समसामयिक विषयमा कुराकानी गरिएको छ ।

भक्तपुरको सांसद हुनुबाहेक तपाईं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिम्मेवार युवा नेता पनि हुनुहुन्छ । भक्तपुरको विकासको लागि तपाईं निरन्तर खटिइरहनुभएको छ । भक्तपुर काठमाडैंबाट कहिले पनि निरपेक्ष छैन । भक्तपुर, काठमाडौं, ललितपुर एउटा जोडिएको बेल्ट पनि हो । काठमाडौं महानगरपालिकाको पछिल्लो काम कारबाहीलाई तपाईंले कसरी लिइरहनुभएको छ । कामपामा नेकपाकै मेयर हुनुहुन्छ । उहाँको निकै अलोचना पनि भइरहेको छ ।

काठमाडौं महानगरभित्र धेरै भद्रगोल छ । अव्यवस्थापन छ भन्ने कुरा पहिलेदेखि नै सुन्दै आएका हौं । हाम्रो अपेक्षा के थियो भने विद्यसुन्दर शाक्य मेयरको रुपमा गइसकेपछि उहाँले त्यसलाई कन्ट्रोल गर्नुहुन्छ । त्यति ठूलो बजेट भएको महानगर एउटा विकासको गतिमा आउँछ भन्ने हाम्रो अपेक्षा थियो । तर, उहाँले त्यो अपेक्षालाई पूरा गर्न सक्नुभएको छैन । र अहिले महानगगरप्रति निकै ठूलो आलोचना (आक्रोश) छ । उहाँप्रति एउटा ठूलो असहमति र उहाँको क्रियाकलाप र कामप्रति असन्तुष्टिहरु व्यापक मात्रामा आएका छन् ।

पार्टी अहिले एकताको पक्रियामा गएको हुनाले पार्टीको सांगठनिक संरचना र सञ्जाल आफैंमा मजबुद र बलियो छैन । त्यसकारण उहाँलाई पार्टीमार्फत सच्याउने, सुधार्ने, सचेत बनाउने ध्यानाकर्षण गराउने काम हुन सकेको छैन । मलाई त के लाग्छ भने, जुन जुन महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा प्रतिनिधिसभा, प्रदेशसभाको सांसदहरुले सोचोअनुसार काम गर्नुभएको छैन अथवा जनभावनाअनुसार चल्नुभएको छैन, उहाँहरुलाई पार्टीले सचेत बनाउनुपर्छ, सच्चिने अवसर दिनुपर्छ । उहाँहरुलाइ कारबाही गर्ने तहमा पनि सोच्नुपर्छ जस्तो लाग्छ मलाई । स्थानीय तहमा संविधानमै उहाँहरुलाई कारबाही गर्दाखेरी पदमै कायम रहने व्यवस्था भएकाले केही समस्या होला । परि आयो भने कानुन नै संशोधन गरेर जानुपर्ने हुन्छ । किनभने हामी बहुदलीय व्यवस्थाका प्रतिनिधि भएको हुनाले हामी स्वभाविकै ढंगले दलसँग आवद्ध हुनुपर्छ । र दलले कारबाही गरेको हकमा सम्बन्धित सबैको पद नरहन पर्छ र एउटा नयाँ म्यान्डेटमा जाने एउटा वातावरण बन्नुपर्छ ।

जनचाहनाअनुरुप काम नगर्ने जनप्रतिनिधिलाई दलले कारबाही नगर्दा कारबाही कसले गर्ने भन्ने अवस्था पनि छ । कुनै पनि पदमा पुगेको व्यक्तिको राम्रो कामको जस तथा नराम्रो कामको अपजस पार्टीले नै लिनुपर्ने अवस्था छ नि ?

हो, गलत काम गर्नेलाई कारबाही गर्नुपर्ने अरु निकाय पनि देखिएका छैनन् । राज्यका कारबाही गर्ने निकाय पनि त्यति प्रभावकारी भइसकेका छैनन् । त्यही भएर महानगरको कामप्रति व्यापक असन्तुष्टि भक्तपुरमा पनि छ ।

खास गरी तपाई अहिले भक्तपुरको विकासमा केन्द्रित भएको देखिन्छ । अहिले देशमा विभिन्न खालका संकट देखिएका छन् । जस्तै ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरण । तपाईं यस विषयमा मौन हुनुहुन्छ नि ?

सत्ताधारी दलको सांसदको हैसियातले यस्ता गतिविधिहरु पार्टीको आन्तरिक प्रभाव र दबाब दिने विषयहरु बन्छन् । अर्को कुरा अब समृद्ध मुलुक निर्माण गर्ने हाम्रो जुन अभियान छ । समृद्ध मुलुक निर्माण गर्ने कुरा छ । विकास अभियानहरुबाटै समृद्धि सम्भव हुन्छ । राजनीतिक बहसले मात्र यो कुरा पूरा हुँदैन । राजनीतिक वहस गर्ने, दृष्टिकोण र राजनीतिक विचारको मूल लक्ष्यको अभाव हामीसँग छैन । त्यसलाई कार्यान्वयन गर्ने, प्रभावकारी बनाउने भ्रष्टाचार र अनियमिततामुक्त बनाउने कुरा नै हो आजको चुनौती । त्यसो हुँदा हामीले जति खट्नुपर्ने हो त्यो भन्दा बढी खट्नुपर्छ । जति सक्रिय हुनुपर्ने यो भन्दा बढी हुनुपर्छ । ओभरटाइम गर्नुपर्छ मुलुक बनाउनको लागि । डे टू डे ड्युटी मात्र गरेर पुग्दैन भन्ने मलाई लाग्छ । त्यही भएर म अलि बढी विकास निर्माणको काममा नै केन्द्रित भएको छु ।

जहाँसम्म निर्मला पन्त हत्या प्रकरण, ३३ किलो सुन प्रकरणलगायतका कुरा छन्, त्यो के लाग्छ भने धेरै समयको अस्थिर राजनीति र राजनीतिक संक्रमण कालको कारण देशमा आपराधिक शक्तिहरु फस्टाएका छन् । आपराधिक गतिविधि र गिरोह एकदम बलिया भएका छन् । यो बीचमा जनता र सुरक्षा निकायको सम्बन्ध पनि कमजोर भएको छ । किनभने तत्कालिन युुद्धको क्रममा धेरै सुरक्षाकर्मी तथा प्रहरीहरुको एकले अर्कालाई सक्ने तह सम्मको सम्बन्ध थियो । आन्दोलनमा पनि एकले अर्काको अस्तित्व नस्विकार्ने तहको सम्बन्ध थियो । जनता र प्रहरी वा सुरक्षा निकायसँगको सम्बन्धमा विश्वासको ठूलो खाडल थियो । त्यसलाई हटाउन सरकारले अहिले सामूदायसँग प्रहरी भन्ने अभियान अगाडि बढाइरहेको छ । यो प्रभावकारी हुन्छ जस्तो मलाई लाग्छ ।

निर्मला पन्तको हत्यारालाई अहिलेसम्म पत्ता लाग्न नसकेको जुन सवाल छ । घटनाको छानबिनका दौरान प्रहरीबाट कमजोरी भएको कुरा नेपाल सरकारले आफू मातहतको एसपी र इन्सपेक्टरलाई बर्खास्त गरेबाट नै पुष्टि भएको छ । अब छानबिन प्रक्रियामा कमजोरी भएको छ र अपराधीलले जुन अपराध गरेको छ । त्यो पत्ता लाग्न समय लाग्न सक्छ । त्यसमा पनि सीमा क्षेत्रमा भएको अपराध हो यो । यस्ता ठाउँमा अपराधीहरु लुक्ने, भाग्ने, छल्ने ठाउँहरु प्रशस्त हुन्छ । त्यसो हुँदा निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणले एउटा जटिलता ल्याएको छ ।

३३ किलो सुन काण्डको सन्दर्भ पनि सरकारले छानविन समिति बनाएर जुन महत्वका साथ काम अगाडि बढायो । यद्धपी यसका मूख्य तस्करका बीचमा छानविन समिति पनि पुग्न सकेको छैन । तर पनि यो प्रकरणले यस्ता खालका धेरै अपराधीहरुको मनोबल गिरेको छ र यस्तो खालका अपराध गर्ने कुरामा धेरैपटक सोच्न बाध्य हुने अवस्थामा पुगेका छन् जस्तो लाग्छ । जे भए पनि हिजो संक्रमण कालमा बिग्रेका राज्यका विविध संरचनाहरुलाई पुर्नव्यवस्थित पुनर्गठन गर्दै एउटा विश्वासको वातावरण बनाउँदै अगाडि जानुपर्छ । र सरकार ठिक दिशामा गएको छ जस्तो मलाइ लाग्छ । अब ठ्याक्कै ७/८ महिनामा सोचेको जस्तो परिणाम नआएको हुन सक्छ तर, सरकारले दिशा चाहिँ ठिकै लिएको छ ।

नयाँ यूगको सुरुवात भनेर सरकारले सामाजिक सुरक्षा कोषको घोषणा गरेको छ । त्यसको कार्यान्वयनमा जानुभन्दा अगाडि प्रचारप्रसार भड्किलो भयो भनेर सरकारको व्यापक आलोचना भयो नि ?

नेपाली समाजमा आलोचनाको चेतना बढी छ । मिडिया पनि त्यसबाछ मुक्त छैन । हरेक घटनाको १८० एंगल हुन्छ हामी कुन एंगलबाट त्यसलाइ छलफल गर्छौं भन्ने हो । अब प्रचार भड्किलो भयो बढी भयो भन्ने कुरामा म सहमत छैन । किनभने यस्ता खालका राष्ट्रिय अभियानलाई व्यापक मात्रामा प्रचार प्रसार गर्दै जनताको घर घरमा यो कुरा पुगेन भने यसलाई कार्यान्वयन गर्न सकिँदैन । भोलीका दिनमा विविध खालको समस्या आउन सक्छन् त्यसलाई हामी सामना गर्न सक्दैनौं । त्यही भएर प्रचारको माध्यमबाट यसलाई जनमत बनाउने हो र भोली कार्यान्वयन गर्ने सन्दर्भमा कहाँ कता के के अप्ठ्यारो आउँछ त्यसलाई सच्याएर जाने हो ।

अर्को कुरा विज्ञापनमा ३७ करोड खर्च भयो भनेर मिडियाहरुले हाइलाइट गरे । हाइलाइट गर्ने मिडियाको विज्ञापनको रेट कति छ त उहाँहरुको ? मिडियाको फस्ट पेजमा विज्ञापन (ज्याकेट एड) छाप्दा कति पैसा लिनुहुन्छ त ? उहाँहरुले आफ्नै विरोध गरेजस्तो लाग्छ मलाई । यसलाई केही राष्ट्रिय मिडियाले प्रोपोगाण्डाका हिसाबले पनि लिए ।

अनि अर्को कुरा हामी विभिन्न ब्रान्डहरुको नाममा हिरो हिरोइन, विदेशी हिरो, हिरोइनको फोटो सडकमा देखाउन सक्छौं । आफ्नो मुलुकको प्रधानमन्त्रीको फेटो सडकमा देख्दा हाम्रो टाउको दुख्छ । थाइल्याण्ड गयौं भने, त्यहाँका राजाको जहाँ पनि फोटो देखन्छि । भारतमा पनि नेताहरुको फोटो राखिएका हुन्छन् । चाइनामा गायौं भने राष्ट्रपति सि जिङ पिनको फोटो त्यत्तिकै देखिन्छन् । संसारमा जहाँ पनि यस्तो हुन्छ ।

हाम्रोमा चाहीँ कस्तो चलन छ भने, लिडरलाई टावर बनाएर मुलुक विकास गर्ने होइन कि, बन्न लागेको टावर भत्काउने चलन छ । मलाई त के लाग्छ भने, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टावर बनाएर यो दुई तिहाइको सरकारलाई सबैले सहयोग गरेर मुलुक निर्माण गर्नुपर्ने ठाउँमा प्रधानमन्त्री (केपी शर्मा ओली) माथि नै आक्रमण गरेर त्यो टावर भत्काउने र मुलुकमा फेरी अस्थिरता, असुरक्षा र निराशा फैलाउने एउटा योजनावद्ध चलखेल भइरहेको छ । र यसमा जानेर नजानेर हामी पनि सहभागी भएका छौं । त्यसो हुनाले यस्ता विषयहरुमा मुख्य कुरा के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यही भएर यो सानो तिनो कुरामा अल्झिनु हुँदैन ।

सामाजिक सुरक्ष कोषको विषयमा के भन्न चाहनुहुन्छ ?

यो एउटा ऐतिहासिक उपलब्धि हो । तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटा अवधारणा ल्याउनुभयो । एक प्रतिशत राजश्वको रकम छुट्याएर संकलन गरिने । हाम्रो अनुभव छ, हनुमन्ते करिडोरको कुरा गर्दा पनि ०.५ प्रतिशतले पाँच अर्ब रुपैयाँ संकलन भयो । बुढीगण्डकी जलाधारयुक्त आयोजना निर्माण जुन गर्दैछौं हामी त्यसमा पेट्रोलियम पदार्थबाट छुट्याएको रकम २६ अर्ब रुपैयाँ भएको छ । यो राज्यको एउटा दायित्व हो । यो सामाजिक सुरक्षा कोषको अभियान जुन सरकारले ल्याएको छ, यो एउटा निकै राम्रो र विशेष गरी श्रमजीवी वर्गको, श्रमिकहरुको हितको पक्षमा एउटा यूगान्तकारी परिवर्तन हो ।

यो पढ्नुभयो ?

महेश बस्नेतले एक बर्षमा गरेका ११ काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *