काठमाडौं, २२ मंसिर । नेपाल आइडल सिजन २ को टप फाइभबाट अमित बराल बाहिरिएका छन् । अमित रुपन्देहीका हुन् ।
शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए । बिहीबारको कार्यक्रममा उनले सनुप पौडेलको ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीत गाएका थिए ।
अमितले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति मार्फत दर्शक स्रोताको मन जित्न सफल भएका थिए । अघिल्लो एपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता झनै चुलिएको थियो । पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको प्रतिक्रिया दिएपछि उनको चर्चा बढेको थियो ।
कार्यक्रमका अतिथिका रूपमा चलचित्र निर्देशक नीर शाह र गीतकार दिनेश अधिकारी उपस्थित थिए । अतिथि कलाकारका रूपमा चलचित्र ‘सु श्री सम्पत्ति’का कलाकार सलोन बस्नेत र सारा सिर्पाइली तथा चलचित्र निर्देशक सुव्रत आचार्य उपस्थित थिए ।
शुक्रबारको कार्यक्रममा प्रतियोगीलाई साथ दिन टप ट्वान्टीभित्र परेका केही प्रतिस्पर्धी मञ्चमा उपस्थित थिए । नारायण गोलाको ‘पर्खिबसेँ आउला भनी’ बोलको गीत सुमित पाठक र दीपराज खत्रीले गाएका थिए । ‘बोल बोल’ बोलको गीत अस्मिता अधिकारी र स्वस्तिका ढकालले गाएका थिए । ‘आँखामा कसैको तस्बिर’ भन्ने गीत रोमान्टिक हाउभाउका साथ रवि ओड र सुमन परियारले गाए । ‘मेरी वसन्ती’ बोलको गीत विक्रम बराल र मिलन परियारले गाएका थिए । शुक्रबारको कार्यक्रममा सबै प्रतिपस्र्धीले गीतको ‘शब्द’ बिगारेको (बिर्सिएका) थिए ।
कार्यक्रममा सबैभन्दा बढी भोट पाउने सिट सुमित पाठकले सुरक्षित गरे भने परफरमर अफ दी डेको उपाधि विक्रम बरालले पाए ।
अमित बाहिरिदा…
कार्यक्रमकी उद्घोषिका रीमा विश्वकर्माले ‘अमित बरालको नेपाल आइडलको यात्रा यहाँसम्म मात्र’ भन्दै अमित बाहिरिएको सुनाउँदा अमित पछाडि फर्केर आँसु पुछिरहेका थिए । अमितले नेपाल आइडलमा अहिलेसम्म दिएका उत्कृष्ट प्रस्तुतिको भिडियो क्लिप देखाइएको थियो । भिडियो हेर्दाहेर्दै उनी धेरैपटक भक्कानिए । घरि दुवै हातले आँसु पुछ्दै हुन्थे त घरि जबरजस्ती हाँस्न खोजिरहेका थिए ।
जजको आँखामा पनि आँसु छचल्किरहेको थियो । अमितका लागि केही बोल्न उनीहरू एकअर्कालाई आग्रह गरिरहेका थिए । शब्दविहीन थिए सबै । उद्घोषक रीमा र आसिफ अमितलाई हेर्दै एकोहोरिएका थिए । दर्शकहरू निःशब्द देखिन्थे । मञ्चमा केहीबोर शून्यता छाएको थियो ।
को हुन् अमित ?
प्रदेश ५, रुपन्देही जिल्ला बुटवल सैनामैनाका अमित नेपाल आइडलमा उत्कृष्ट पाँचमा पुगेर बाहिरिए । सानो छँदा संगीतमा खासै चासो नराख्ने अमित दाजुको सपना पूरा गर्न यो क्षेत्रमा आएका हुन् । उनका दाजु भने सानैदेखि राम्रो गाउने गर्थे । पढाइमा पनि अत्यन्तै तेज थिए । केही वर्षअगाडि उनको दाजुको दुर्घटनामा मृत्यु भयो । दाजुको मृत्युले अमितलाई गहिरो चोट लाग्यो । उनले मनमनै संकल्प गरे, ‘म संगीतमै केही विशेष गर्छु र दाजुको सपना पूरा गर्छु ।’
त्यसपछि सुरु भयो उनको संगीत संघर्ष । रातदिन रियाज (अभ्यास) गर्न थाले । घरमा बस्दा होस् या स्कुलमा पढ्दै गर्दा, उनी मनमस्तिष्कमा गीत गुन्गुनाइरहेका हुन्थे । बुटवलस्थित लुम्बिनी कला केन्द्रमा करिब दुई वर्षसम्म उनले औपचारिक रूपमा संगीत सिके । रातदिन मेहनत गरे र आफ्नो स्वरमा सुर दिन थाले । हरेकपटक गीत गाउनुअघि दाजुलाई सम्झिने अमित भन्छन्, ‘मेरो जिन्दगीको अन्तिम लक्ष्य र बाँच्ने आधार पनि संगीत हो।’
प्रतिक्रिया
आइडलबाट बाहिरिँदै गर्दा उनले नेपाल आइडललाई आभार व्यक्त गरे । उनले अब यही क्षेत्रमा संघर्ष गर्ने र त्यसका लागि नेपाल आइडलले धेरै अवसर दिएको बताए । ‘हरेक प्रतियोगी अब्बल हुनुहुन्छ, ममा केही कमजोरी भएरै बाहिरिएको होला, अहिले देखिएका कमजोरी सुधार्ने कोसिस गर्छु’, प्रतियोगिताबाट बाहिरिएपछि उनले भने । नेपाल आइडलमा आउनुअघि विदेश जाने तयारीमा रहेका अमितले आफू र आफ्नो दाजुको सांगीतिक सपना पूरा गर्न नेपाल आइडल वरदानकै स्वरूपमा आएको बताए ।
सके जित्नेछु, नसके सिक्नेछु
प्रतियागिताबाट बाहिरिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । आफूले ठूलो जित ग्रहण गरेको महसुस भइरहेको उनले बताएका छन् । उनले भनेका छन्, म कहिल्यै हार्नेछैन, सके जित्नेछु, नसके सिक्नेछु ।
यस्तो छ स्टाटस
यो निश्ल सामिप्यता, आत्मियता, ममता, जो नेपाल आइडलको यो मझेरीमा मेरो पैताला ले कुल्चेदेखी तपाइँ सम्पुर्णले निस्वार्थ अञ्जुली छचल्किउन्जेल सम्मै माया भरेर पोखिरहनु भयो ! म प्रती खन्याइरहनु भयो ! दर्साइरहनु भयो !! मसँग तपाइँको यो लगानी, तपार्इंहरुको यो आत्मियता, तपाइहरुको यो गुन तिर्न मेरो बर्कतको कहिल्लै सामर्थ्य रहने छैन ! र यो अथाह मायाले मलाइ सधै ऋणी बनाइरहने छ ! बेफिकर यो माया यो साथ लाई म आजिबन उत्तिकै इज्जतका साथ सम्झिरहने छु !! र अझै तपाइहरु सङ्गै समिपमा जोडिरहने प्रण गरिरहने छु !! आज नेपाल आइडलको यो आँगनबाट बाहिरिनु तपार्इंहरु सबैको मनको आगनमा, तपाइ सबैको नयन को रेटिनामा र तपाइँको रुद्रघण्टीको वैखरीमा पुनः भित्रिनु सम्झिएको छु ! सायद यो तपार्इंहरु सबैको मायाको अथाह शक्ति नै हुनुपर्छ म आज पनि पुनः ठुलै जित ग्रहण गरेकै महसुस भैरहेको छ ! देश-परदेश, सुगम-दुर्गम, कन्दरा पखेरा, गाउँ-शहर, सहज-अशहज जस्तोसुकै परिस्थिति पनि थाँती राखेर गर्नुभएको यो माया बिश्वास स-प्रेम कहिल्लै पनि एक थोपा घट्न दिने छैन ! र तपार्इंहरु सबैको यो साथ रहुन्जेल सम्म म कहिल्यै हार्नेछैन, सके जित्नेछु , नसके सिक्नेछु !! -तपाईं सबैको अमीत बराल
पोष्टमाण्डु परिवारको तर्फबाट अमितलाई सफलताको शुभकामना
यो पनि पढ्नुहोस्ः