काठमाडौं, २२ मंसिर । एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल आइडल सिजन २ को ३४ औं श्रृंखलामा अतिथिको रुपमा गीतकार दिनेश अधिकारी र निर शाह उपस्थित भएका थिए ।
कार्यक्रमको शुरुमा प्रतिस्पर्धी सुमित पाठकले नारायण गोपालको आवाजमा रहेको पर्खी बसेँ बोलको गीत गाएका थिए । सुमतिलाई दीपराज खत्रीले गायनमा साथ दिएका थिए । यस गीत निर शाहले लेखेका हुन् ।
प्रतिस्पर्धीको प्रस्तुतीपछि गीतकार शाहले उनीहरुको तारिफ गरे । शाहले भने, ‘जब उहाँहरुले यो गीत गाउनुभयो, रेडियो नेपालमा नारायणजी (नारायण गोपाल)ले रेकर्डिङ गर्दाखेरी गाइरहनुभएको दृश्य मेरो आखाँ अगाडि आइरहेको थियो । फरक यत्ति थियो त्यो दिन यो गीत एउटा नारायण गोपालजीले गाउनुभएको थियो आज यो गीत दुईटा नारायण गोपाजीले गाउनुभयो ।’
कार्यक्रममा उपस्थित अर्का अतिथि दिपक अधिकारीले भने, ‘गीत गाउँदा घाँटीले गाउने कि छातीले गाउने भन्ने कुरा उठ्छ कहिलेकाँही । घाँटीले गायो भने त्यसको आयू लामो हुँदैन । छाातीले गायो भने त्यो गीत अर्कोसम्म राम्ररी सम्प्रेशित हुन्छ । र त्यो सम्प्रेषण सधैंका लागि हुन्छ ।’ उनले थपे, ‘मैले याद गरेँ सुमित भाइले छातीले ने गाउनुभएको छ ।’
एक-अर्काको तारिफ
कार्यक्रममा सहभागी दुई अतिथि अधिकारी र शाहले एक अर्काको तारिफ गरे । शाहको तारिफ गर्दै अधिकारीले भने, मैले निर दाईको कितावमा आफ्नो विचार लेखेको छु, अक्षरको आयू सबैभन्दा लामो हुन्छ । अक्षर बहुआयामिक पनि हुन्छ । निर दाइले लेख्नुभएको यो गीत (पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो) त्यही लामो आयू भएको गीत हो ।
गीतकार अधिकारीको तारिफ गर्दै शाहले भने, कविता कस्तो हुन्छ भनेर कसैलाई हेर्न मन छ भने त्यसको तस्विर भनेको दिनेश अधिकारी हो । मेरो पनि सबैभन्दा मन पर्ने र सबैभन्दा मथिल्लो श्रेणीमा राखेको गीतकार उहाँ नै हो । तिमी जुन रहरले ममा फुल्न आयौ भन्ने गीत जुन नारायण गोपाल दाईले गाउनुभएको छ, त्यो गीतलाई म नेपाली गिती लेखन इतिहासको उत्कृष्ट पाँच वटा गीतमध्ये राख्ने गरेको छु ।
कार्यक्रममा प्रतिस्पर्धीलाई हौसला दिँदै गीतकार अधिकारीले गीतमा शब्दको महत्व बुझ्न आग्रह गरे । उनले भने, गीत स्वर संगीत मात्रै होइन शब्द पनि हो । नारायाण गोपालले एकपटक भन्नुभएको थियो जगदम्बा पुरस्कार ग्रहण गर्दै गर्दा, स्वरको मध्यमबाट पनि साहित्यको सेवा हुँदो रहेछ भन्ने कुरा मैले यो पुरस्कार प्राप्त गरेपछि थहा पाएँ । प्रतिस्पर्धीलाई उनले भने, तपार्इंहरुले साहित्यलाई संगीतको पार्ट बनाउनुभयो भने तपार्इंहरुको यात्रा निकै लामो हुन्छ ।
अतिथि दुवै जनाले प्रतिस्पर्थीहरुलाई उज्वल भविष्यको कामना समेत गरे । यसैबीच, नेपाल आइडल २ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन् ।
यो पनि पढ्नुहोस्ः