काठमाडौं, २२ मंसिर । स्वरसम्राट नारायण गोपालको आवाजमा रहेको ‘पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो’ बोलको गीत सदाबहार गीतको रुपमा हरेक संगीतप्रेमीको मन मनमा आजसम्म पनि गुञ्जिरहन सफल भएको छ ।
यस गीतको शब्द निर शाहले लेखेका हुन् । यो गीत कसरी लेखियो भन्ने उत्सुकता सबैलाई लाग्न सक्छ । त्यसमा पनि गीतमा भनिएको शब्द मेरो उठ्ने पालोको अर्थ के होला भन्ने जिज्ञासा पनि कतिलाई होला ?
गीतमा रहेका शब्दको अर्थ दिँदै शाहले भने, ‘सम्भावनाका खोजी भनेको एउटा जुनी भर पनि नसकिने कुरा हो । जब तपाईंले प्राप्त गर्नुपर्ने अधिकारहरु तपाईंले प्राप्त गर्न नसकेको अवस्था सिर्जना हुन्छ नि ? तपाईंमा एक किसिमको नैराश्य आउँछ । कुनै बेला यस्तै अधिकारबाट बञ्चित हुँदा खेरी त्यो नैराश्यलाई मैले जानेको माध्यमबाट अभिव्यक्त गरेको हो । स्वभाविक रुपमा म माथि उठ्नुपर्ने हो । त्यो माथि उठ्नुपर्ने मेरो पालो किन मिचियो त ? भनेर विरोध गरिएका शब्द र वाक्य हुन् यी । यसले यी शब्द र वाक्यमार्फत किन आफ्नो विरोध अभिव्यक्त गर्यो भन्ने कुरा नारायण गोपालजीलाई राम्ररी थाहा थियो । त्यसकारण पनि उहाँले यो गीत गाउन रुचाउनुभयो ।’
नेपाल आइडल सिजन २ को ३४ औं श्रृंखलामा शुक्रबार अतिथिको रुपमा निर शाह कार्यक्रममा उपस्थित थिए । त्यसक्रममा प्रतिस्पर्धी सुमित पाठकले पर्खी बसेँ बोलको गीत गाएका थिए । सुमतिलाई दीपराज खत्रीले गायनमा साथ दिएका थिए । उक्त प्रस्तुतीपछि गीतकार शाहले प्रतिक्रिया दिँदै भने, ‘जब उहाँहरुले यो गीत गाउनुभयो, रेडियो नेपालमा नारायणजी (नारायण गोपाल)ले रेकर्डिङ गर्दाखेरी गाइरहनुभएको दृश्य मेरो आखाँ अगाडि आइरहेको थियो । फरक यत्ति थियो त्यो दिन यो गीत एउटा नारायण गोपालजीले गाउनुभएको थियो आज यो गीत दुईटा नारायण गोपालजीले गाउनुभयो ।’
कार्यक्रममा अतिथिको रुपमा शाहसँगै गीतकार दिपक अधिकारी पनि उपस्थित थिए । प्रतिस्पर्धीको प्रस्तुतीपछि अधिकारीले भने, ‘गीत गाउँदा घाँटीले गाउने कि छातीले गाउने भन्ने कुरा उठ्छ कहिलेकाँही । घाँटीले गायो भने त्यसको आयू लामो हुँदैन । छाातीले गायो भने त्यो गीत अर्कोसम्म राम्ररी सम्प्रेशित हुन्छ । र त्यो सम्प्रेषण सधैंका लागि हुन्छ । मैले याद गरेँ सुमित भाइले छातीले ने गाउनुभएको छ । शाहको शब्दको तारिफ गर्दै उनले थपे, मैले निर दाईको कितावमा आफ्नो विचार लेखेको छु, अक्षरको आयू सबैभन्दा लामो हुन्छ । अक्षर बहुआयामिक पनि हुन्छ । निर दाइले लेख्नुभएको यो गीत त्यही लामो आयू भएको गीत हो । फेरी सुन्न पाएँ खुशी लाग्यो ।
यसैबीच, नेपाल आइडल २ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन् ।
यो पनि पढ्नुहोस्ः