निर्मलाको हत्यारा पत्ता लागेको दिन सरकार भेटिएला नि : सञ्चारमन्त्री

NEWS

काठमाडौं, २० मंसिर । सरकारले ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासलाई भैंसेपाटीमा सार्ने निर्णय गरेका छ । पुल्चोकमा भने विशिष्ट पाहुनाको आवास भवन बनाउने भएको छ ।

राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्री र मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास बनाउने सरकारले निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माणको निर्णय गरेको हो । यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय बनाइनेछ ।

हाल पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवन भने राजकीय अतिथि भवन बनाइने भएको छ । यसका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालयसँगै रहेको सरकारी जग्गा समेत उपयोग गर्न सकिने सरकारले निर्णय गरेको छ ।

गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले पुल्चोकमा विशिष्ट व्यक्तिको लागि आवास भवन बनाइने बताए ।

कोष स्थापना

मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट प्राप्त लिडरसिप एन्ड गुड गभर्मेन्स अवार्डसहित प्राप्त एक लाख अमेरिकी डलर (सोही बराबरको) रकम नेपाल सरकारले थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरिएको बताए । सो पुरस्कार शान्ति सुशासन र नवप्रवद्धन वैज्ञानिक खोज अनुसन्धान तथा विकासको क्षेत्रमा योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई प्रदान गरिने  उनले बताए ।

तोडमोड गरियो

एसिया प्यासिफिक सम्मेलनलाई मिडियाले भक्तमान श्रेष्ठ र दिलसोभा प्रकरणजस्तै बनाउन खोजेको आरोप उनले लगाए । मन्त्री बास्कोटाले सम्मेलनको विषय आइक्यापसँग सम्बन्धित रहेको र त्यसलाई बढ्ता तोडमोड गरिएको दाबी गरे । उनले भने, ‘यो त भक्तमान प्रकरण जस्तै भयो, दिलशोभा प्रकरणजस्तै भयो, आरोप जे पनि लगाइदिएको छ ।’

उनले यसअघि पनि सन्त नेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायत सबै नेता सहभागी भएको र तथ्यगत रुपमा विषयलाई अहिले लुकाइएको दावी गरे ।

आग्रह

उनले मन्त्रिपरिषद बैठकको निर्णयबारे आफूसँग जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह गरे ।

पोष्टर छाप्न पाइन्छ

मन्त्री बास्कोटाले हिजो गंगामायाको पछि लाग्नेहरु आज निर्मला प्रकरणमा लेकको जुकाको जस्तो मुख बनाएर पछि लागेको बताए । उनले निर्मलाको न्यायको लागि भन्दै सडकमा पोष्टर टाँसिएको बिषयमा मन लाग्नेले लोकतन्त्रमा पोष्टर छाप्न पाइने भन्दै अपराधी पत्ता लागेको दिन सरकार भेटिएला नि भन्दै ब्यङ्ग्य समेत गरे ।

संयुक्त हुलाक टिकट

नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ ।

देवकोटाको आवासलाई संग्रहाल

महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरिएको मन्त्री बास्कोटले बताए । देवकोटाको जन्म जयन्तीका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *