काठमाडौं, १६ मंसिर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आइतबार प्रदर्शनमा उत्रियो ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दाषीलाई कारबाहीको माग गर्दै राजधानीसहित देशका विभिन्न स्थानमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको हो ।
हत्या भएको चार महिना बितिसक्दा पनि सरकारले दोषीलाई कारबाही नगरेको भन्दै सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरेको नेकपाले जनाएको छ ।
राजधानी काठमाडौंमा भएको प्रदर्शनमा विप्लवका नेता कार्यकर्ताले निर्मला हत्याकाण्डका दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै चर्का नाराबाजी गरेका थिए ।
निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै देशैभर दिनहुँजसो विभिन्न राजनीतिक दल, अभियन्ता र अधिकारकर्मीले पनि प्रदर्शन गर्दै आएका छन् ।
गत साउन १० गते साथीको घर गएकी निर्मलाको ११ गते बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।