काठमाडौं, १६ मंसिर । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली प्रतियोगी श्रृङ्खला खतिवडा हेड टु हेड च्यालेन्जमा मिस सिंगापुरसँग पराजय भएकी छिन् ।
हेड टु हेड च्यालेन्जमा विजयी भएसँगै मिस सिंगापुर शीर्ष ३० मा पुगेकी छिन् ।
यससँगै, श्रृङ्खलालाई शीर्ष ३० मा पुर्याउने नेपालीको चाहना अपूरो भएको छ । श्रृङ्खलाले आफू नेपालीले अपेक्षा गरे अनुरुप खरो उत्रिन नसकेकोमा माफी मागेकी छिन् । आइतबार बिहान एक भिडियो पोष्ट गर्दै उनले भनेकी छिन्, ‘ बिहान युट्युबमा भिडियो हेरेपछि कस्तो गल्ती गरेँ भनेर थाहा पाएँ । अझ धेरै राम्रो गर्न सक्थें । सरी नेपाल ।’
‘हेड टु हेड च्यालेन्ज पनि जितेर टप ३० मा पुगुँ भन्ने मन थियो । नआत्तिनुहोला, अझै पनि ३० वटा मध्ये १७ वटा सिट खाली नै छन् । त्यसकारण यो अन्त्य होइन । सरी भन्न चाहन्छु, राम्रो गर्न सक्थें अझै,’ उनले भनेकी छिन् ।
उक्त जीतका लागि सिंगापुर नै लायक भएको बताउँदै ‘युट्युबमा नेपालले जित्नुपर्दथ्यो सिंगापुरले किन जित्यो ?’ भनेर नलेख्नका लागि उनले आग्रह समेत गरेकी छिन् । श्रृंखलाले भनेकी छिन्, उनी पनि मेरो राम्रो साथी हुन् । म उनको लागि एकदम खुसी छु ।
उनी भन्छिन्, ‘एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा म हृदयदेखि नै विश्वास गर्छु ।’