काठमाडौं, १३ मंसिर । वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली सुरु गर्ने भएको छ । १६ मंसिरदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले बताए ।
रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले निकै सास्ती खेप्दै आएका छन् । श्रम स्वीकृति लिनकै लागि अघिल्लो दिनदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ ।
वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र सेवा प्राप्त गर्न सकिने उनले बताए । दैनिक ९ सयलाई टोकन वितरण गर्ने गरी सफ्टवेयरको विकास गरिएको छ ।
प्रमुख खतिवडाले टोकन प्राप्त गर्ने युवालाई सोही दिन सेवा प्रदान गरिने बताए । उनले सफ्टवेयरले दिएको मिति र समयभित्रै सेवा लिन कार्यालयमा आउनसमेत आग्रह गरेका छन् ।
प्रमुख खतिवडाले भने, ‘सेवाग्राहीले टोकन लिएको दिनमै सेवा लिन आउनुभयो भने सोही दिन हामी ९ सयलाई नै सेवा प्रदान गर्न सक्छौं । यसबाट सेवाग्राही भोक र निद्रा नभनी लाइनमा बस्न आउनुपर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन सक्छौं ।’
कार्यालयबाट सरकारले रोजगारीका लागि खुला गरेका ११० मुलुकका लागि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति प्रदान हुँदै आएको छ । अहिले दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ ।
कार्यालयले बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्दै आएको छ । शनिबारका दिनसमेत श्रम स्वीकृति प्रदान गरिँदै आइएको प्रमुख खतिवडाले जानकारी दिए । चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा बिदेसिने युवाको चाप ह्वात्तै बढेको छ ।