काठमाडौं, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा विभिन्न दलका नेता तथा पदाधिकारीहरु पुगे । कांग्रेसको चियापान कार्यक्रममा एक लाख लाई आमन्त्रण गरिएको पार्टीले जनाएको थियो ।
स्वागत
चियापान कार्यक्रममा आएका अतिथिलाई कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरुले स्वागत गरेका थिए ।
को-को पुगे ?
कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेपाल (नेकपा)का नेता माधव कुमार नेपाल, झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ, वामदेव गौतम, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक)का अध्यक्ष पशुपति शमशेर राणा, आइजीपी सर्वेन्द्रनाथ खनाल, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायत कुटनीतिक नियोगका अधिकारीहरु कार्यक्रममा सहभागी भएका थिए ।
मेन्यू
चियापान कार्यक्रममा चिया, समोसा, निम्की र जेरी राखिएको थियो । कार्यक्रम परिसरमा कांग्रेस समर्थक स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच समेत गरेका देखिन्थे । नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पताल इकाइ समितिले चियापानमा आएकाहरुको स्वास्थ्य जाँच गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेस शभापति शेरबहादुर देउवाले भने,
-सरकारले चाहे आफ्नो पार्टी राष्ट्रिय एकताकै बाटोबाट अघि बढ्न तयार छ ।
-विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर सुरु गर्नु भएको ऐतिहासिक चियापान कार्यक्रमले शान्तिपूर्ण, भेदभावरहित समृद्ध नेपाल निर्माण निर्माण गर्ने सबैको चाहना पूरा गर्न सफलता मिलोस् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले भने,
-अहिलेको स्थिरताको सरकार बनेको बेला राम्रो विकास हुन सकेन भने भविष्य अन्धकारतर्फ जान्छ । सरकारले समयको सदुपयोग गर्न सकोस्, कम्युनिस्ट पार्टी नेतृत्वको सरकार समयको दुपयोग गर्न सक्षम हुनुपर्छ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले भने,
-निरन्तर प्रयास गरे पनि महाधिवेशनअघि एकतावद्ध हुने (पार्टी मिलाउने) सम्भावना कम छ । पार्टी एक हुनुपर्छ भन्ने धारणा पहिलेदेखि नै हो । कांग्रेसमा अहिले पनि कोइराला परिवारको लिगेसी आवश्यक छ । पार्टी एकढिक्का बनाएर जाने क्षमता कोइराला परिवारको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले भने,
-राजनीतिक दलहरु मिलेर ल्याएको परिवर्तन अझै संस्थागत भइसकेको छैन । यसलाई अघि बढाउन अझै मेलमिलाप र एकता आवश्यक छ । हामी सबैले ठण्डा दिमागले सोचेर राष्ट्रिय एकता र समृद्धिको यात्रामा जान नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट अपिल गर्न चाहन्छु ।
नेकपा नेता झलनाथ खनालले भने,
-अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आयाँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुशी लागेको छ । पार्टी (नेकपा) अझै एकीकृत भइसकेको छैन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत भइसकेपछि बेग्लै गति आउनेछ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,
-चियापानमा फरक फरक दलका प्रतिनिधिहरु भेटघाट गर्ने अवसर मिल्ने भएको हुँदा यो सकारात्मक संस्कृति हो । यसले आफ्नोपन विकास गर्न सहकार्यको विकास गर्न सहयोग गर्छ ।
किन सर्यो मिति ?
नेपालीहरुको महान चाड दशैं, दिपावली (तिहार) र छठपर्वको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रम कोजाग्रत पूर्णिमाका दिन गर्ने योजना थियो । नेता नेता चक्रप्रसाद वास्तोलाका निधनको शोकका कारण केही दिन सारेर कांग्रेसले शुक्रबार चियापान कार्यक्रम गरेको हो ।
निरन्तरता
नेपाली कांग्रेस पार्टीका संस्थापक विपी कोइरालाले विस २०३३ सालमा मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश (नेपाल) फर्किएपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले हरेक वर्ष निरन्तरता दिँदै आएको छ ।