नेपाल-भारत सुरक्षा सम्बन्धी पुस्तक सार्वजनिक

NEWS

काठमाडौं, १० असोज । नेपाल–भारत सम्बन्ध, प्रतिरक्षा र सुरक्षा मामिलाको पुस्तक सार्वजनिक भएको छ । सोमबार मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले पुस्तक विमोचन गरेका हुन् । नीति अनुसन्धान प्रतिष्ठान नेपालले गत वर्ष भारत उत्तराखण्डको देहरादूनमा नेपाल र भारतका सुरक्षा मामलाका जानकारलाई भेला गरी आयोजना गरेको दुई दिने गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्र र प्रवचन समेटिएको पुस्तकको सम्पादन डा. दीपककुमार अधिकारी र डा. टीकाराम पौडेलले गरेका हुन् ।

के छ पुस्तकमा ?

पुस्तकमा पूर्व प्रधानसेनापति गौरव शमशेर राणा, नेपाल प्रहरीका पूर्व आईजीपी ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरीका पूर्व आईजीपी किशोर लामा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नेपालका लागि भारतका पूर्व राजदूत रञ्जीत रे, सुरक्षाविद् जनरल अशोक मेहतालगायतको अनुसन्धानमूलक लेख तथा प्रवचन समावेश गरिएको छ । पुस्तकले नेपाल–भारतबीच विद्यमान सुरक्षा मामलामा सम्बन्ध र समस्यालाई उजागर गर्दै सुझाव समेत प्रस्तुत गरिएको छ ।

कसले के भने ?

कार्यक्रममा बोल्दै मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले सुरक्षा र सम्बन्ध विश्वासका आधारमा मजबुत हुने भन्दै दुई देशबीचको आपसी सम्बन्ध सुमधुर बनाउन विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए । उनले जनस्तरको सम्बन्ध नै सुरक्षा सम्बन्धलाई बलियो बनाउने आधार रहेकाले जनस्तरको सम्बन्ध सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल र भारतबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले समस्याको पहिचान गरी समाधानतर्फ जानुपर्ने बताए ।

नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमारले पुस्तकले सुरक्षा नीति बनाउन सुझाव दिएकोमा खुशी व्यक्त गरे । दुई देशबीच सुरक्षा सम्बन्धी नीति बनाउन पुस्तक सहयोगी बन्ने विश्वास व्यक्त गर्दै सुझावलाई समेटेर जानुपर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय सहयोग परिषद्का महासचिव श्याम पराण्डेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध राजनीति भन्दा माथि रहेको बताए । जनस्तरको सदीऔं देखिको सम्बन्धको आत्मा धर्म र संस्कृति रहेको भन्दै त्यसलाई मनन गर्नुपर्ने बताए । दुई देश एक अर्काको शान्ति र सुरक्षाका लागि सदैव सहयोगी भएको बताए ।

नीति अनुसन्धान प्रतिष्ठान, नेपालका निर्देशक तथा पुस्तकका सम्पादक डा. दीपककुमार अधिकारीले दुई देशबीचको सम्बन्धबारे गलत प्रचारप्रसार हुँदा समस्या आउने गरेको उल्लेख गरे । सुरक्षा जस्तो संवेदनशील विषयमा समेत गलत प्रचार हुनुलाई गम्भीरताका साथ लिनुपर्ने भन्दै आपसी विश्वास, विवेकसंगत निर्णय र समन्वयबाट नै द्वीपक्षीय सम्बन्ध र सुरक्षा मामलामा लाभ पुग्ने बताए ।

पुस्तकमाथि सुरक्षा मामला विज्ञ चिरनजंग थापाले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमार, पूर्व प्रधानसेनापतिहरु, पूर्व आईजीपीहरुका अलावा सुरक्षा मामलाका जानकारहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *