साइप्रसमा नेपाली चेली आइसीयूमा, यस्तो छ ‘साइप्रस जिन्दगी’ (भिडियो)

NEWS

काठमाडौं, १३ भदौ । साइप्रसमा नेपाली चेलीहरु निकै समस्यामा पर्ने गरेका छन् । नेपालका एजेण्टहरुले ठूला सपना देखाउने गरेको बताउँदै तर, त्यस्ता सपनामा नबहकिन एक चेलीले सबैमा आह्वान गरेकी छन् ।

साइप्रसमा रहेकी मिङमार लामाका अनुसार अहिले साइप्रसमा एक नेपाली चेली अस्पतालको आइसीयूमा भर्ना भएकी छन् । तर उनलाई एजेण्ट तथा इम्प्लोयरले कुनै सहयोग नगरेको बताएकी छन् ।

उनलाई सहयोग गरिदिन उनले सबैमा अपील गरेकी छन् । रुपन्देहीको बुटवल घर भएकी सबिना पुन मगर अहिले आएसीयूमा रहेको उनले बताएकी छन् । उनका अनुसार, सबिना साइप्रस पुगेको १७ दिन भएको छ । उनी बिरामी भएर आइसीयू भर्ना भएको भने एक हप्ता भएको छ ।

उनले फेसबुकमा एक भिडियो शेयर गर्दै साइप्रसमा नेपालीले पाउने दुखको बारेमा समेत जानकारी गराएकी छन् ।

एजेन्ट र इम्प्लोयरले नेपाली चेलीलाई सहयोग नगर्ने गरेको उनले बताएकी छन् । साइप्रसमा रहेका अधिकांश नेपाली चेलीले समयमा खान नपाउने, लामो समय ड्यूटी गर्नुपर्नेलगायतका अनेक समस्या भोग्नुपरेको उनले बताइन् ।

‘यहाँ कुकुरले भन्दा धेरै दुख पाइन्छ ।’ उनले भनिन्, ‘सबै नेपालीले दुख पाएका नहोलान् । तर, धेरै नेपाली चेलीहरु समस्यामा छन् । म आग्रह गर्छु साइप्रसमा आएर कोही युवती नफस्नुहोला ।’

नेपालमा एजेण्टले ठूला सपना देखाउने गरेको उनको आरोप छ । एजेण्टका सपना पत्याएर साइप्रस आउने युवतीको सपना यहाँ आइसकेपछि सबै चकनाचुर हुने उनको भनाइ छ ।

‘नेपालमा एजेन्टले ४ लाख लिएर प्लेन उडाइदिएपछि हामीलाई वास्ता गर्दैन ।’ उनले भनिन्, ‘हप्तामा ६ दिन काम, दैनिक ८ घण्टा काम गर्ने हो, रेस्ट गर्न घुम्न पाइन्छ भनेर आश्वासन दिन्छन् । तर, यहाँ त्यस्तो हुँदैन ।’

ती एजेन्टहरुलाई भन्न चाहन्छु, ‘आफ्नै चेलीलाई यस्तो दुख नदिनुहोला ।’ उनी भावुक हुँदै भनिन्, साइप्रसबाट यूरोपका देशहरु जान सकिन्छ, धेरै पैसा कमाइन्छ भनेर एजेण्टले भन्छन् । तर, यहाँ त्यो सम्भव छैन ।

नेपाली चेलीले १२/१३ घण्टादेखि १७/१८ घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । अंग्रेजी बोल्न नसक्ने र बुझ्न नसक्नेले झनै धेरै दुख पाउने गरेको उनको अनुभव छ । एजेण्टहरुको र कसैको लहैलहैमा लागेर साइप्रस नआउन उनले सबै नेपालीलाई अनुरोध गरेकी छन् ।

‘यहाँ त हामीलाई जनावरको जस्तो व्यवहार गर्छन् । कतिपयको नियत नै खराब हुन्छ ।’ उनले सुनाइन्, ‘बिरामी नहुने त जे जसो गरेर खान्छन् बस्छन् तर, बिरामी भइयो भने अवस्था बिजोग हुन्छ ।’

यहां अध्ययनका लागि आएका विद्यार्थीको अवस्था समेत बिजोग रहेको उनले बताएकी छन् । नेपालीले भोग्नुपर्ने समस्याका बारेमा जानकारी दिँदै गर्दा उनी भक्कानिएकी छन् । उनी भन्छिन्, हामीले त दुख पाइयो पाइयो, तपाईहरुले यस्तो दुख भोग्न नपारोस् ।

विस्तृत जानकारी भिडियोमाः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *