कञ्चनपुरमा कर्फ्यु, गोली लागेकामध्ये एकको अवस्था गम्भीर

समाज
8 Shares

कञ्चनपुर, ७ भदौ । कञ्चनपुरमा भएको विरोध प्रदर्शनले उग्र रुप लिएपछि त्यहाँ कर्फ्यु आदेश जारी गरिएको छ ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गर्दै सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु लगाउन बाध्य भएको हो ।

आज (बिहीबार) दिउँसो तीन बजेबाट शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

गोली प्रहार

यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा ७ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेमध्ये एक जनालाई टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । अन्य घाइतेहरु अधिकांशको खुट्टा र ढाडमा चोट लागेको छ ।

बालिका हत्या घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन दिन प्रतिदिन चर्कदै गएको छ ।

यसैबीच, आन्दोलन उग्र बन्दै गएपछि दीपायलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

हत्याकाण्डको अनुसन्धान र वास्तविकताबारे चन्दले जिम्मेवारी लिने गरी उनलाई खटाइएको बताइएको छ ।

यो पनि पढ्नुहोस्ः

निर्मला हत्याको नखुलेको पाटो 

‘पक्राउ परेका दिलीप निर्दोष’

स्थानीय भन्छन्, वास्तविक हत्यारा खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *