कविता:
रिमा केसी
आज बादल मातको उन्मादले
आफ्नै हृदय पग्ली बनेको प्रेमरस पिएर
नशामा झुम्दै नाचिरहेछ
आकाशको आँगनीमा
बतासको मोहनी लयमा ताल मिलाएर
प्रेमको नशाले मदहोश भएर
हिमचुचुराको गाला म्वाई खानासाथ
असीम हर्षको आँसु बनेर
धर्तीको काखमा लडीबडी गरिरहेछ
प्रेमीको आँसुलाई अक्षरभित्र कैद गरेर
प्रेयसीको खोजीमा निस्किएको खामझैं
आकाशको आँसुको प्रेमपत्र बोकेर
आएको हुलाकीझैं बादल
सम्झनाको डाँको छोड्दै
जति जोर जोरले बर्षिन्छ
म ठिङ्ग उभिन्छु
समयलाई साक्षी राखेर
स्पर्श गर्छ्न प्रत्येक बूँदले
हृदयको रोम रोम
जसरी शीतविन्दुले नुहाउँछ गुलाफको पत्र
र
निथ्रुक्क भिजाउँछ मेरो सिङ्गो अस्तित्वलाई
त्यही बेला वर्षिन्छ मेरो आँखाको आकाश पनि
र
प्रेमको दोभानमा मिल्दछन्
बादलको आँसु र मेरो आँसु
बग्छन् अनन्तको प्रशान्त महासागरतिर…