काठमाडौं, १२ साउन । शनिबारदेखि तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको हो ।
महाशाखाका अनुसार,
शनिबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ ।
साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आइतबार, दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
सोमबार (असार १४ गते) पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बाढीको सम्भावना
निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान शाखाले नदीमा बहाब खतरा भन्दा माथि रहनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
खासगरी पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा बाढीको सम्भावना छ । पहिरो जान सक्ने स्थानमा पनि सतर्कता खपनाउन महाशाखाले अनुरोध गरेको छ ।