काठमाडौं, १० साउन । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित टिमुरे प्रवेशद्धारमा अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा ९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक जिल्लाका चार जना रहेका छन् भने रसुवाका तीन जना र नुवाकोट जिल्लाका दुई जना रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर–५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, अन्दाजी २७ वर्षका मंगल तामाङ, अन्दाजी ४५ वर्षका विक्राम श्रेष्ठ र वडा नम्बर–४ का अन्दाजी ३७ वर्षका रमेश खड्काको रसुवा पहिरोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मृत्यु हुनेहरुमा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–१ घर भएका अन्दाजी ४६ वर्षका मिनमार गुम्बु तामाङ, वडा नम्बर–२ घर भएका दोर्जे वाङछु घले र अन्दाजी वर्ष ३७ की कास्याङ सिमो घले रहेका छन् ।
यस्तै, नुवाकोट घर भएकी वर्ष अन्दाजी ३० की शर्मिला कमिनी र रमेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार अपरान्हदेखिको लगातारको वर्षासँगै गए मध्यराति बस्ती माथिबाट खसेको पहिरोमा पुरिएका नौ जनाको शव डोजर र स्काभेक्टर प्रयोग गरेर निकालिएको रसुवा प्रहरी प्रमुख, डिएसपी सन्तोष तामाङले जानकारी दिए ।
पहिरोले टिमुरे स्थित प्रहरी चेक पोस्टसहित चारवटा घरलाई क्षति पुर्याएको छ । त्यस्तै १२ जना घाइतेमध्ये पाँच जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।