काठमाडौं, २६ असार । उत्तरी थाइल्यान्डको गुफामा दुई हप्तादेखि फसेका १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्दार गरिएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।
गुफामा फसेकाहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो । गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए ।
आइतवार र सोमवार प्रत्येक दिन चार चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो।
एघारदेखि १६ वर्ष उमेरका १२ बालक र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि नौ दिन सम्पर्कविहीन भएका थिए । पछि उनीहरूलाई जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै भेटिएको थियो ।
कसरी गरियो अन्तिम उद्धार ?
मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो।
तेस्रो दिनको अभियान स्थानीय समयानुसार बिहान नौ बजे सुरु भयो। आवश्यक उपकरण र अक्सिजनका ट्याङ्की लिएर १९ गोताखोरहरू गुफामा प्रवेश गरेका थिए। बाहिर वर्षा भइरहेको भए पनि गुफाभित्र पानीको सतह आइतवारको जति नै थियो ।
गोताखोरहरूले गरे उद्धार, एकको मृत्यु
थाई र विदेशी गोताखोरहरू यो जटिल उद्धार अभियानमा सहभागी भएका थिए ।
गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारा भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याएका थिए ।
त्यसरी आउँदा बालकहरूले हिँड्नु, पौडिनु, उकालो उक्लिनु र गोता लगाउनु परेको थियो ।
यो कठिन उद्धार अभियानमा संलग्न एक गोताखोरको केही दिनअघि गुफाबाट फर्किने क्रममा मृत्यु भएको थियो ।
हजारौँ व्यक्तिहरूले समग्र उद्धार अभियानमा स्वयम्सेवा गरेका थिए ।
बालकहरूको अवस्था
यसअघि उद्धार गरिएका आठ बालकहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको बताइएको छ।
उद्धारपछि अस्पतालमा भर्ना गरिएका बालकहरूको एक्स रे एवम् रक्तपरीक्षण गरिएको छ । उनीहरूलाई चिकित्सकको निगरानीमा अस्पतालमा कम्तीमा पनि एक हप्ता राखिने छ ।
अस्पताल लगिँदा केही बालकहरू न्यून तापक्रमका कारण समस्याग्रस्त थिए ।
अभिभावकले हेरे
केही बालकहरूले आफ्ना अभिभावकहरूलाई परबाट हेर्न पाएका छन् । तर उनीहरूलाई सोझै भेट गर्न भने दिइएको छैन ।
केही दिनमै थप परीक्षणका परिणामहरू प्राप्त हुनेछन् र बालकहरूलाई सङ्क्रमण नभएको प्रमाणित भए उनीहरूलाई परिवारजनसँग भेट्न दिइनेछ ।
प्रधानमन्त्रीले भेटे
थाइल्यान्डका प्रधानमन्त्री प्रायुत जान ओचाले भने बालकहरूलाई भेटेका छन् । -बीबीसी