काठमाडौं, २२ असार । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । १५ जनाको घटनास्थलमा र ४ जनाको उपचारका लागि लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । मृत्यु हुनेमध्ये रोल्पाका ९ जना र दाङका ५ जना रहेका छन् । घटनामा १३ जना घाइते भएका छन् ।
कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
घाइते १३ जनामध्ये सामान्य घाइते भएका ५ जनालाई जिल्ला अस्पताल मुस्ताङमा उपचार गरिएको छ । अन्यलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् ।
शुक्रबार दिउँसो २ बजे तिर भएको दुर्घटना पछि घाइतेको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो । घटनास्थल मुस्ताङ सदरमुकामबाट गाडीमा ३ घण्टाको दुरीमा पर्दछ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, मृत्यु हुनेको विवरण यस्तो छः
रोल्पा थबाङ १ का २८ वर्षका सुकमान रोका
३६ वर्षका मौसम घर्ती
थबाङ ५ कि ३१ वर्षकी जीतमाया घर्ती
२० वर्षकी सिर्जना मगर
२३ वर्षका रास्त्रे रोका
२३ वर्षकी जीतकुमारी पुन
१९ वर्षका महेश रोका
रोल्पा सुनछहारी १ कि ३२ वर्षकी सुन्तु घर्ती
३२ वर्षका राजकुमार पुन
दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा
३० वर्षका बालकुमार घर्ती
राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्तीमगर
३५ वर्षका सुबेर चौधरी
राप्ती ९ कि ४३ वर्षकी शान्ति थापा
धादिङका २३ वर्षका सुजन घलान
ओखलढुंगा चम्पादेवी गाउँपालिका २ का २० वर्षका जीवन माझी
कैलालीको नारायणपुर नगरपालिका ८ का २२ वर्षका बिन्ती घर्ती
कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ३५ वर्षका कमान सिंह रोका
स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ का २४ वर्षका कृष्ण क्षेत्री