काठमाडौं, २२ जेठ । नेपालमा आर्ट फिल्म निकै थोरै बन्छन् । प्रदर्शनमा आएको ‘हरि’ आर्ट फिल्मको एउटा उदाहरण हो भन्दा फरक नपर्ला । एक घन्टा ४६ मिनेटको यो फिल्मले मसालेदार फिल्म हेर्ने बानी परेका दर्शकलाई नयाँ स्वाद प्रदान गर्नेछ ।
त्यो नयाँ स्वाद मन पराउनेका लागि रसिलो र चलनचल्तीको स्वादमा रमाउनेलाई खल्लो लाग्न सक्छ । हरि ‘मास टार्गेटेड अडियन्स’का लागि नभएर निश्चित दर्शकका लागि नै लक्षित गरेर बनाइएको बुझ्न गाह्रो छैन ।
कमर्सियल फिल्ममा जस्तो रोनाधोना, मारकाट र गीतको स्वाद यसमा पाइँदैन । त्यसैले, कलात्मक फिल्म हेर्ने बानी परेका दर्शकले कथावस्तु मन पराए पनि आमदशर्कलाई भने फिल्म बुझ्न गाह्रो हुन सक्छ । हलमा प्रदर्शनरत अन्य फिल्मभन्दा यो भिन्न छ ।
मुख्य पात्र विष्णुहरि (विपिन कार्की)को जीवनमा आउने उतार–चढावका घटना नै फिल्मको स्वरूप हो । आफ्नो जीवनका घटनाहरू उसले न्यारेटिभ शैलीमा दर्शकलाई सुनाउँदै जान्छ । उसको जीवन सरल र सात्विक छ । विष्णुहरि प्रणामी हो । उसको आहार मात्रै होइन, जीवन पनि सात्विक छ ।
३० वर्ष पुगिसक्दा पनि माया–मोह, छलकपट, मित्रता र दुस्मनीबाट आफूलाई उसले टाढा राख्ने कोसिस गरेको छ । उसको जीवनमा शुभ–अशुभ, धर्मलगायत अदृश्य तनावले ठूलो प्रभाव राख्छन् । लक्ष्मी फाइनान्सको म्यानेजर हरि एक दिन कार्यालय जाँदै गर्दा उसमाथि चराले बिस्ट्याइदिन्छ । आची कागको थियो वा परेवाको भन्ने विषयले हरिलाई दुविधामा पार्छ । यही दुविधा र प्रश्नसँगै फिल्म अघि बढ्छ ।
पहिले एक युवती र त्यसपछि रहस्यमयी बाबासँगको साक्षात्कारले हरिको जीवनमा क्रमशः परिवर्तन आउँछ । जीवनमा आइलाग्ने परिस्थितिलाई उसले निडर भएर सामना गर्ने प्रयास गर्छ ।
माया–प्रेम, दोस्ती–दुस्मनी, लोभ, अहंकारको चक्रमा ऊ जतिजति फस्दै जान्छ, फिल्म त्यति नै रहस्यमय बन्न थाल्छ । कथाले सोच्न बाध्य तुल्याउँछ । दर्शकलाई आफ्नै कोणबाट बुझ्न सक्ने गरी ठाउँ छोडिएको छ । जुन, निर्देशकीय खुबी हो ।
विपिनको अभिनय
छड्के, पशुपतिप्रसाद, जात्रा, नाकालगायत फिल्ममा गरेको अभिनयका कारण चर्चा कमाएका विपिन यस फिल्ममा फरक अवतारमा छन् । उनले जिजुबाजे रामहरि, बाबु शिवहरि र विष्णुहरिको चरित्र निर्वाह गरेका छन् ।
फिल्मका अधिकांश दृश्यमा आफैँ देखिएर पनि विपिनले चुनौतीलाई सहज रूपमा पूरा गरेका छन् । यस फिल्मले भर्सटायल अभिनेताका रूपमा उनलाई उभ्याएको छ । विष्णुहरिकी आमा पार्वतीको रोलमा सुनिता श्रेष्ठ ठकुरी सशक्त देखिएकी छिन् ।
रोल छोटै भए पनि कमलमणि नेपालले आफूलाई विपिनको छायामा पर्न दिएका छैनन् । कमलमणिकी श्रीमतीको भूमिकामा देखिएकी लक्ष्मी बर्देवा केही ‘लाउड’ देखिन्छिन् । नाका फिल्मबाट अभिनयमा डेब्यु गरेकी थिन्ले ल्हामुको भूमिका छोटो छ, र पनि उपस्थिति सम्झिनलायक छ । गाइनेको भूमिकामा उभिएका प्रकाश खड्काको गन्धर्वको अभिनय तारिफयोग्य छ ।
निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङले फिल्ममार्फत आफ्नो थप सम्भावनालाई उजागर गरेका छन् । मौलिक र कलात्मक फिल्म निर्माणमा उनीहरूले गरेको प्रयास सह्रानीय छ । साना–साना सांकेतिक दृश्यको प्रयोगले फिल्मलाई कलात्मक बनाएको छ ।
प्राविधिक पक्ष
नाका फिल्मबाट प्रशंसा बटुलेका चिन्तनराज भण्डारीको खिचाइ यस फिल्ममा पनि अब्बल छ । क्यामेरा एंगल, स्पिड र सट कनेक्सन सुहाउँदो छ । सेट डिजाइन, फ्रेमिङ र लाइटिङमा स्यान्डर्ड कायम छ । फिल्मको ब्याकग्राउन्ड स्कोर स्तरीय छ ।
हरिको राम्रो पक्ष नै मौलिकधारको कथा हो । मूलधारका भनिएका फिल्मलाई यसले चुनौती दिन्छ । कथा प्रस्तुत गर्ने विश्वव्यापी हलिउड र बलिउडको ट्रेन्डबाट यस फिल्मले आफूलाई अलग राखेको छ । तर, फिल्म केही ‘स्लो’ देखिएको छ ।
कतिपय दर्शकले फिल्म हेरिसकेपछि कथा नबुझेको गुनासो गर्छन् । गम्भीर कथामा बनाइएको फिल्म भए पनि यसले पूरै समय दर्शकलाई गम्भीर बनाउँछ भन्ने छैन । समग्रमा, हरि प्रयोगवादी फिल्म हो । -नयाँ पत्रिकाबाट