पाँचथर, १२ जेठ । पाँचथरमा एक प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका–८, मा रहेको तमाखे प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मानबहादुर विष्टले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
इलाम घर भएका ३६ वर्षीय विष्टले शुक्रबार राति ११ वजे प्रहरी चौकीदेखि एक सय मिटर टाढाको दूरीमा रहेको जङ्गलको रुखमा झुण्डिएर आत्महत्या गरेको पाँचथर प्रहरीले जनाएको छ ।
विष्टले स्थानीय एक किशोरिलाई जिस्काएको भन्दै किशोरीका आफन्तले शुक्रबार साँझ प्रहरी चौकी तमाखेमा मौखिक उजुरी दिएका थिए ।
किशोरीको आफन्तको मौखिक उजुरीको आधारमा विष्टलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय फिदिममा ल्याउन त्यहाँका प्रहरी इन्चार्जलाई आदेश दिएको ३ घण्टामै विष्टले आत्महत्या गरेको प्रहरी निरीक्षक प्रकाश गुप्ताले बताउनुभयो ।
पक्राउ गरी जिल्ला ल्याउने थाहा पाएपछि विष्ट चौकीबाट गायब भएका थिए । घटनाबारे अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ ।