काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने तय भएको छ ।
प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । सरकारी स्रोतका अनुसार, भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेका थिए । सम्मेलनको अवसर पारेर प्रधानमन्त्री चीन भैमणमा भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका विश्वका शीर्ष नेताहरुसँग भेट गर्ने मौका मिल्थ्यो ।
तर, चीनले समय नमिल्ने भन्दै सम्मेलनको दुई सातापछि मात्र प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने तयारी गरेको छ । सांघाई कोअपरेशनको सम्मेलन जुन ९, १० मा चिङ्दाओमा हुनेछ भने ओली १९ जुनमा चीन भ्रमणमा जानेछन् ।
यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जाँदा बोआओ फोरममा नेपालको सहभागिता गुमेको थियो । यो सम्मेलन अप्रिल ८ देखि ११ सम्म हुनानमा भएको थियो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।